१५ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका मौलाना जेल चलान

काठमाडौं– गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरका एक मौलाना (शिक्षक) १५ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन्।
बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। खाँ स्थानीय मदरसा गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए।
उनीमाथि चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोग छ। बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।
खेतालालाई सुर्ती पु-याउन जाने क्रममा कात्तिक १६ गते शिक्षक खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेका थिए। भित्र लगेपछि उनलाई बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दीखोलामा फालेको अनुशन्धानबाट खुलेको छ।
कात्तिक १६ गतेबाट हराईरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा खाँविरुद्ध अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका एसपी नवीनकिशोर प्रधानले बताए।
सम्बन्धित खबर