रुकुम पश्चिममा ३ जना भुकम्प पीडितको मृत्यु

राजविराज– रुकुम पश्चिमको पिपल आठविसकोटमा चिसोका कारण तीन जना भूकम्पपीडितको मृत्यु भएको छ। आठविसकोट नगरपालिका–१४ पिपलचौरका ६४ वर्षीय टिके जैसी, ६२ वर्षीय खगी जैसी र वडा नं. ११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो।
भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो। यसैगरी, दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको हो।
यस्तै भुकम्पपछि परिवारसँगै पालमुनी बसिरहेका नौलेको सोमबार राति ९ बजेतिर ज्यान गएको हो। स्थानीय दिपक बाह्रघरेका अनुसार उनी पेट र दमका बिरामी थिए।
आठविसकोट–१४ स्थित घेत्मा स्वास्थ्यचौकीका प्रमुख देवबहादुर चन्दले दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको बताए। उनले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउने सर्वसाधारणको संख्या दिनानुदिन बढिरहेको जानकारी दिए।
चिसोका कारण गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिक वढि प्रभावित छन्।