रास्वपामा यसरी सल्कियो परालको आगो, किन पाखा लागे शोविता र तोसिमा ?
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै महोत्तरीमा सम्पन्न केन्द्रीय समिति वैठकले १२ सदस्यीय सचिवालय बनायो। सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा सोही वैठकले थप गरेका सबै पदाधिकारी राखिएका छन।
स्वर्णिम वाग्लेलाई डिपी अर्यालयपछि दोस्रो नम्वरको उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री, एमालेका पूर्वनेता भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीलाई कोषाध्यक्षमा र दीपक बोहोरालाई सहकोषध्यक्ष बनाईएको छ।
सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार पनि समेटिँदा पार्टीको स्थापना कालदेखि नै खटेका तथा कांग्रेस, एमाले, माओवादीको दबदवालाई चिर्दै चुनाव जितेका शोविता गौतम र तोषिमा कार्की भने पाखा लागे।
त्यसपछि पार्टीभित्र असन्तुष्टिहरु परालको आगो झै सल्किएको छ। डाक्टर तोषीमा कार्कीले त फेसबुकमै स्टाटस लेखेर असन्तुष्टि जनाएपछि रास्वपामा भुइचालो जाँदैछ भन्ने अनुमान लगाउन गाह्रो छैन। सुरुदेखि नै सभापति लामिछानेको प्यारो हुन नसकेका शोविता र तोषिमाले पदाधिकारीको जिम्मेवारी नपाउनुलाई सवैले आश्चर्यजनक रुपमा लिएका छन्।
बरु एमाले छोडेर आएकी भरतमोहन अधिकारीकी पूत्री लिमा अधिकारीलाई फ्याट्टै कोषाध्यक्षको जिम्मेवारी दिईयो। यो प्रकरणले लामिछानेको सर्वत्र आलोचना भइरहेको छ। भित्रभित्रै विरोधी आवाजहरु मुखरित भइरहेका छन्। कतिपयले त पार्टी फुट्नेसम्मको चर्चा गर्न थालेका छन्।
‘पार्टीलाई विधिमा चलाउने र जान्नेलाई छान्ने’ नीति लिीएको पार्टीले नै विधि पद्धति मिचेको भन्दै आलोचना भइरहेको छ। लामिछानेले अधिकारीहरुलाई काखी च्याप्दा शोविता र तोषिमाहरु पाखा लागेको भन्दै पार्टीको भविष्यमाथि नै प्रश्न उठाउन थालिएको छ।
मोहनचन्द्र कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्–‘मैले धेरै पहिलेदेखि भन्दै आएको कुरा रास्वपामा धेरै असल र सक्षम, इमान्दार नेता कार्यकर्ताहरु हुनुहुन्छ। भरोसा योग्य हुनुहुन्छ। तर बिडम्बना त्यसको अध्यक्ष रबि नै असक्षम, गफाडी, हावा, नितान्त ब्यक्तिगत स्वार्थी र महत्वकांक्षी भएकोले यसको भविस्य लामो छैन!’
यसैगरी, बुद्धिप्रसाद राईले ‘रवि लामिछानेजीका लागि शुद्ध, सफा आचरण भएकाहरु र बौद्धिक व्यक्ति स्वीकार्य नरहेको प्रमाणित हुँदै छ। राजनीतिको आधारभूत सिद्धान्त र मान्यता बिनाको राजनीतिक दलमा जहिल्यै व्यक्तिको व्यक्तिगत स्वार्थ नै सर्वोच्च हुने गर्दा त्यस्ता दललाई राजनीतिक दलको कित्तामा नरहने अवस्था आउँदछ।’ भन्दै आलोचना गरेका छन्।
तर डा. तोषिमा कार्कीले नै पार्टी फुट्ने कुरालाई भने अस्विकार गरेकी छिन्। उनले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्। उनले सञ्जालमा लेखेकी छिन्– ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम। साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’
आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ।’
‘चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ। जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ। साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौँ। त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न!’ उनले अगाडि लेखेकी छिन्–‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ। बरु आउनुस् तपाईंहरु पनि यो महाअभियानमा नछुट्नुस्।’
उनले यसअघि लेको ‘विधिको शासन? ए ए,’ भन्ने स्ट्याटसलाई सबैले आ–आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ! भन्दै पार्टी फुट्ने कुरा आफुले नगरेको पनि प्रस्ट्याएकी छिन्। ‘विधिको शासन देश मै छैन हजुर! सरकारमै छैन। स्वास्थ्य मन्त्रीको हर्कतमा छैन। न्यायलयमै छैन! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ।’– उनले लेखेकी छिन्।
सम्बन्धित खबर