कांग्रेसको ब्यानरमा ‘भ्रष्ट्राचारबाट पार्टीलाई बचाऔं’ लेखेपछि झगडामै उत्रिए देउवा
पोखरा– नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन ब्यानरका विषयमा सभापति शेरबहादुर देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच झगडा भएको छ। ब्यानरमा ‘भ्रष्ट्राचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य लेखिएपछि दुई नेताबीच झगडा भएको श्रोतले जनाएको छ।
पोखरामा सुरु भएको सम्मेलनका लागि प्रदेश समितिले विशेष स्टेज तयार गरेको थियो। उक्त स्टेजका लागि तयार गरिएको ब्यानरको सुरुमै ‘विरासतको रक्षा गरौँ नेपाली कांग्रेस बचाऔँ’ भन्ने नारा लेखिएको छ। त्योसँगै ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनः स्थापित गरौँ’ भन्ने नारा पनि छ।
त्यो मध्ये ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांशमा देउवाले असन्तुष्टि जनाएका थिए। उनले सो वाक्य हटाउन निर्देशन दिए। तर, सभापति शर्माले उक्त वाक्यांश हटाउन नचाहेपछि भनाभन भएको बताइएको छ ।
अन्त्यमा ‘भ्रष्टाचार’ भन्ने वाक्यमा टेप टाँसेर कार्यक्रम सञ्चालन गरिएको पाईएको छ। ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांशमा लगाईएको टेपको मुनी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरु बसेका छन्।