बरहथवा घटनामा प्रहरी भन्छः हतियार खोस्न खोजेपछि गोली चल्यो

सर्लाही– बरहथवामा अस्पतालको विषयमा भएको प्रदर्शनमा प्रहरीको वन्दुक खोस्न खोजेपछि गोली चलाउनु परेको सर्लाही प्रहरीले जनाएको छ। तर, प्रहरीको यो कुरा सीडीओ कोमलप्रसाद धमलासँगै बाझिएको छ।

शुक्रवार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीको विषयमा कांग्रेस र एमालेका जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेका थिए। आन्दोलन एकैछिनमा उग्र भएर बरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटुवालको गाडी र घरमा तोडफोड र आगजनीको अवस्थासम्म पुग्यो।

त्यही क्रममा प्रहरीको गोली लागेर सर्लाही होटलका संचालक ३० वर्षीय जयशंकर साहको मृत्यु भयो। टाउकोमै गोली लागेपछि तत्कालै मृत्यू भएको उनको शव अझै सडकमै छ । आफन्त र परिवारल् शव लिएर रातभर कठ्याङ्ग्रिदो चिसोमा आकाशमुनी रात बिताए। उनीहरुले अझै पनि प्रशासनलाई शव वुझाएका छैनन्।

यो घट्नापछि सामान्य झडपमा गोली चलाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ। मृतकका आफन्तले त आन्दोलन भईरहेको स्थलबाट करिव ४ सय मिटरको दुरीमा रहेका जयशंकरलाई रिसइवीका कारण गोली हानिएको आरोप लगाएको छ।

होटल जाँदै गरेको अवस्थामा उनलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली हानिएको भान्जा विवेक साहले वताए। हवल्दार सोनेलाल यादवले होटलमा सित्तैंमा खान नपाएपछि केही समय अघि जयशंकरसँग झगडा गरेको र सोही रिसले अहिले गोली हानेको उनको भनाई छ।

सर्लाहीका एसपी प्रविण धितालले भने यो आरोप अस्विकार गरेका छन्। हतियार लुट्ने प्रयास भएपछि प्रहरीले गोली चलाएको उनको दावी छ। ‘विवाद भएको थियो भने पनि प्रहरीले ज्यानै लिन सक्दैनन् नी। त्यस्तो हो भने पहिले नै हुनसक्थ्यो। घटना भएपछि आरोप लगाउने कुरा स्वाभाविक हो। त्यो विषयमा पनि अनुसन्धान गर्छौं।’ एसपी धितालले भने।

सर्लाहीका सिडिओ कोमल प्रसाद धमलाले भने आफूले गोली चलाउने आदेश नदिएको बताएका छन्। मृतकलाई गोली नै लागेर मृत्यू भएको भन्नेमा पनि उनी विश्वस्त छैनन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट