वडाध्यक्षका छोराको अपहरण, राख्ने ठाउँका विषयमा विवाद हुँदा ३ जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरा धनीधरलाई अपहरण गर्ने ३ जना पक्राउ परेका छन्।

१० वर्षिय धनीधरको अपहरणमा संलग्न जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव बुधबार पक्राउ परेका हुन।

जहदा–१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार सुरुमा अभिषेक पक्राउ परेका थिए। त्यसपछि अरु दुई जनालाई पनि पक्राउ गरिएको हो।

जहदा–१ बाट मंगलबार दिउँसो ३ बजे अपहरणमा परेका बालकलाई प्रहरीले विराटनगर–१८ बाट सकुशल उद्वार गरेको छ। घरनजिकै मन्दिरमा साथीहरुसँग खेलिरहेका बेला ‘स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ’ भन्दै साईकलमा बालकको अपहरण गरिएको थियो।

केही समयपछि मोटरसाइकलमा राखी विभिन्न स्थानमा घुमाउँदै विराटनगर–१५, खाकीबाबा मन्दिर नजिकैका घरमा लगेर बालकलाई राख्न खोजिएको थियो। राख्ने स्थानका विषयमा अपहरणकारीबीचमा नै विवाद भयो। त्यसपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी परेको छ।

अपहरणको कारण खुलेको छैन। तर, बालकलाई भारत पु¥याएर फिरौती लिने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्ने आशंकामा प्रहरीले अनुशन्धान गरिरहेको डीएसपी दाहालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट