२ महिनादेखि लिभिङ टुगेदरमा रहेकी सीमा विवाहित भएको थाहा पाएपछि प्रेमीले गरे हत्या

काठमाडौं– दुई महिनादेखि लिभिङ टुगेदरमा रहेकी (सँगै बसेकी) महिला विवाहित भएको थाहा पाएपछि सल्यानमा एक युवकले चिर्पटले हानेर ती महिलाको हत्या गरेका छन्।

छत्रेश्वरी गाउँपालिका–५ का २३ वर्षीय मोहन पुनले आईतबार राती शारदा नगरपालिका–१२ की २८ वर्षीया सीमा कवरको हत्या गरेका हुन। विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको प्रहरीले जनाएको छ।

सीमाका श्रीमान् कामको सिलसिलामा पोखरामा थिए। सीमा १० मंसिरमा धामीकोमा झारफुक गराउन जान्छु भन्दै हिडेकी थिईन। निःसन्तान भएकाले श्रीमानले पनि उनको कुरा पत्याएका थिए।

त्यसयता उनी गुपचुममा मोहनसँगै बस्दै आएको खुलेको छ। मोहनका बुवा–आमा चार किलोमिटर जति टाढा बस्दै आएका छन्। दुई जना मात्रै वस्दै आएको मोहनकै घरमा सीमाको हत्या भएको हो। ‘झारफुक गराइ ठीक भएपछि मात्रै घर फर्किन्छु भनेर सल्लाहमा गएको खुलेको छ। उनी गुपचुप मोहनसँग बस्दै आएकी रहिछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

त्रिवेणी गाउँपालिका–४ माईती भएकी सीमाको अनैतिक सम्बन्धकै कारण हत्या भएको इलाका प्रहरी कार्यालय लुहामका इन्स्पेक्टर रमेश पौडेलले बताए। उनले भने– ‘मोहनलाई सीमा अर्कैकी श्रीमती हुन् भन्ने थाहा रहेनछ। त्यही खुलेपछि हत्या भएको देखियो।’ ७ माघमा सीमाले फोनमा श्रीमानसँग कुरा गरेपछि मोहनले उनी विवाहित रहेको थाहा पाएको खुलेको छ।

मोहनले सोधीखोजी गर्ने क्रममा सीमाको श्रीमान् रहेको पत्ता लागेको थियो। प्रहरीका अनुसार त्यसक्रममा मोहन र सीमाका श्रीमानबीच पनि फोनमा विवाद भएको थियो। त्यसपछि आवेशमा आएका मोहनले कुटीकुटी सीमाको हत्या गरेको प्रहरीले जनाएको छ। सुरूमा हातमा, त्यसपछि घुँडामुनि र अन्तिममा टाउकोमा हिर्काएर हत्या गरेको अनुशन्धानबाट खुलेको छ।

सीमा अचेत भएपछि पनि कुटपिट गरेको मोहनले बयान दिएका छन्। बेहोस भएपछि मदिरा सेवन गरेर आएको र त्यसपछि घरभित्र लगेर पनि कुटपिट गरेको पाईएको छ। सीमाको मृत्यु भइसकेको यकिन भइसकेपछि पनि मोहन गाउँमा थप मदिरा सेवन गर्न गएको र फर्किएर घरको तल्लो कोठामै सुतेको पौडेलले बताए।

घरमा ताला लागेको र सुनसान देखेपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए। वडाध्यक्षले प्रहरीलाई खबर गरेपछि गएर हेर्दा सीमालाई मृत अवस्थामा भेटेको प्रहरी बताउँछ। मोहन भने गाउँमा पैसा खोजेर भाग्ने तयारीमा थिए। उनी घर नजिकैको जंगलमा लुकिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सीमाले पहिले पनि अन्यत्र बिहे गरेको खुलेको छ। त्यो घरजम बिग्रिएपछि उनले अहिलेका श्रीमानसँग विवाह गरेकी थिइन्। मोहनको पनि विगतमा अन्य महिलासँग सम्बन्ध रहेको प्रहरीको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट