१७०००+२ भन्नेसँग भिड्न कार्यकर्ता उक्साउँदै प्रचण्डः उनले सोधे– कहाँ गयो त्यो जोस?
काठमाडौँ– देशकै अविभावक बनेर बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी विरुद्ध अभिब्यक्ति दिनेहरुको प्रतिवाद गर्न कार्याकर्तालाई उक्साउन थालेका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मारिएको भाष्य बनाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई उक्साएका हुन।
शनिवार पार्टीको शहिद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको विपक्षमा धारणाहरू राख्दा पनि पार्टीपङती मूकदर्शक बनेर बसेको भन्दै असन्तुष्टि जनाए।
‘हाम्रा महान शहीदहरूलाई अपमान गरेको सहन सक्दैनौँ भन्दै मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई के ले रोक्यो, किन जोस आइरहेको छैन हामीलाई ?’ माओवादीको अपमान गर्न १७ हजार प्लस दुई भनेर ब्यानरै बोकेर उभिँदा पनि पार्टीपङती मौन बसेकोमा उनको असन्तुष्टि थियो।
ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विवादमा भएको झडपमा प्रहरीको गोली लागेर दुई युवक मारिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेर विरोध गरेको विषयमा उनले असन्तुष्टि जनाएका हुन।
तोसिमालाई लक्षित गर्दै दाहालले भने,– ‘एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईँ हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन। हिजो भए हामी सहन्थ्यौँ त, के गर्थ्र्यौ, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौँ?’
माओवादी जनयुद्धमा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गरिसकेको बताउँदै दाहालले प्रश्न गरे–‘उनीहरूलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो?’ माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरेर राज्यले आफ्नो काम गरेको भन्दै दाहालले ‘ती शहीदलाई अरूले सम्मान गरिदिउन् भनेर पर्खेर बस्ने होइन’ भन्दै कार्यकर्तालाई सजग गराए।
र, यो पनि
- अद्यागमनका कर्मचारी कुटेपछि विमानस्थलबाट नेपाल प्रहरी हटाउन माग
- नेपाल प्रहरीको गुप्तचर र सीआईबीलाई अमेरिकाले किन राख्यो कालोसूचिमा ?
- बलात्कारको आरोप लागेपछि भागेर कतार पुगेका बराहक्षेत्रका खाँ उतै पक्राउ, नेपाल ल्याईयो
- सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेडकर्नर नोटिस’, कोषाध्यक्ष पक्राउ