ज्युँदो पतिलाई मरेको भन्दै नगरपालिकाबाट भत्ता वुझ्ने महिलालाई तीन महिना कैद

काठमाडौं– पति ज्युँदै हुँदा मृत्यु दर्ता बनाएर एकल महिलाको भत्ता खाने रामेछापको मन्थली नगरपालिका–३ की निर्मला खत्रीलाई तीन महिना जेल सजाय भएको छ।

पति रामबाबु खत्रीको मृत्यु दर्ता बनाएर उनले करिब १ वर्षको एकल महिलाको भत्ता खाएको प्रमाणित भएपछि अदालतले उनलाई कसुरदार ठह¥याएको हो। उनले मन्थली नगरपालिकाबाट माघ ०७९ सम्म १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन्।

उनलाई आफ्ना जीवित पतिलाई मृत्यु भएको भनी विवरण पेश गरी गलत लिखत बनाएर मृत्यु दर्ता गरी एकल महिला भत्ता खाएको प्रकरणमा दोषी ठहर गर्दै विशेषले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

मृत्यु दर्ता गर्न सहयोग गर्ने तत्कालीन वडासचिव शिवकुमार महतोलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को कसुरमा सोही दफा बमोजिम ३ महिना कैद र १० हजार जरिवाना भएको छ।

तत्कालीन वडा सचिव महतोले २१ भदौ ०७८ मा एकल महिला भत्ताको परिचयपत्र त्यही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए। महतोले निर्मलालाई दिएको परिचय पत्रमा बुवाआमाको मात्र नाम खुलाएका थिए। त्यसमा पतिको नाम खुलाइएको थिएन।

आफ्नो मृत्यु दर्ता प्रमाणपत्र दर्ता गराएका खत्री जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला कारागार रामेछापमा कार्यरत थिए। पत्नीलाई एकल महिला भत्ता खुवाएको खुलेपछि कारबाही छल्न उनी जिल्ला कारागार सरुवा भएका थिए।

त्यसको केही समयमै उनले राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको चर्चा त्यसबेलै चलेको थियो। निर्मलाका पति जीवितै रहे पनि उनले एकल महिला भत्ता लिइरहेको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट