विद्यार्थीलाई हातपात गरेपछि विराटनगरको मुनलाइट होस्टलकी सञ्चालक रेग्मी पक्राउ

विराटनगर – मोरङको विराटनगर महानगरपालिका–८ को मुनलाइट गर्ल्स होस्टल सञ्चालक मधु रेग्मी कट्वाल पक्राउ परेकी छन्। होस्टलमा बस्ने विराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेकी हुन।

होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न दबाब दिदै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा वाहिरिएको थियो।

रेग्मीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालले बताए। उनीविरुद्ध जाहेरी भने परेको छैन। जाहेरी दर्ता भएपछि मुद्दाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा प्रहरी छ।

मधुले छात्रालाई हातपात र दुर्ब्यवहार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेकी छात्रासँग तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ। लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल’ भन्दै जाइलागेकी छन्। अन्य दुई छात्राले रोक्न खोजेपनि उनीहरु असफल देखिन्छन्।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन्। विराटनगर नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीले पनि छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन्।

उनका अनुसार कलेजको होस्टलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ। टाढाका विद्यार्थीलाई कलेजको होस्टलमा बस्न प्राथमिकता दिइएको बताउँदै मुनलाइन होस्टलमा अमानवीय व्यवहारमा परेका ३ जना विद्यार्थीहरु पनि कलेजको होस्टलमा बस्नेहरुको सूचीमा रहेको जानकारी दिईन।

यस घटनामा विभिन्न विद्यार्थी संगठनले पनि चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ। विराटनगरमा पुरानो राजनैतिक विरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिससँगको लाभांश साझेदारीमा होस्टल चलाउने गरेको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट