गरिवीको पराकाष्ठाः एक बोरा धान लुट्न ७० वर्षीया वृद्धाको हत्या, मजदुरी गर्ने युवक पक्राउ

सर्लाही– देशमा गरिवी र वेरोजगारी वढ्दै गएको छ। छाक टार्नकै लागि मान्छे हत्या गर्नसमेत अघि सर्न थालेका घट्ना सार्वजनिक हुन थालेका छन्। सर्लाहीमा यस्तै एउटा घट्ना सार्वजनिक भएको छ।

सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा मंगलबार साँझ स्थानीय बौधु महतोकी पत्नी ७० वर्षीया पार्वतीदेखि घरमै विभत्स हत्या भएको थियो। उक्त घट्नामा संलग्न रहेको भन्दै प्रहरीले रौतहटको बृन्दावन नगरपालिका– ५ नरकटिया घर भई सर्लाहीको बागमती क्षेत्रमा मजदुरी गरेर बस्दै आएका ३९ वर्षीय प्रमोद झा (प्रमोद चौधरी) लाई पक्राउ गरेको छ।

अनुशन्धानका क्रममा प्रमोदले एक बोरा धानका लागि पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ। पार्वतीको हत्या भएको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयाधिनिधि ज्ञवाली नेतृत्वको टोली घटनास्थल पुगेको थियो। प्रहरीले महतोको घरको कोठामा राखिएको ७ बोरा धानमध्ये एक बोरा धान नभएको सुराक पायो।

त्यसपछि स्थानीय घिमिरे चोकमा रहेको किराना पसलमा जडान गरेको सीसीटीभी फुटेजको अनुसन्धानमा गर्दा एक जना मानिस बोरा बोकेर नजिकैको किराना पसलमा गएको देखियो। त्यहाँबाट पनि धानको बोरा बोकेरै मानिस अगाडि वढेको देखिन्छ।

तीनै ब्यक्तिको खोजतलासका क्रममा २१ चैतमा बागमती नगरपालिका– १ स्थित बागमती नहरको बाटोहुँदै रौतहटतिर भाग्दै गरेका चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले दिएको वयान अनुसार घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न गएका थिए। तर, वृद्धाले प्रतिकार गरेपछि चिर्पटले हानेर धानको बोरा बोकेर हिँडेको खुलेको छ।

प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट र लुटेर लगेको धानसमेत बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट