राप्रपाको आन्दोलनमा प्रहरीको लाठी चार्ज, ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौँ — राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ। निषेधित क्षेत्र तोडेर सिंहदरबारको मूल गेटतर्फ अघि बढेका राप्रपाका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, अश्रु ग्यास र लाठीचार्ज समेत गरेको छ।

अहिले भद्रकालीबाट सिंहदरबारतर्फको बाटो खाली गराएको छ। राप्रपाको प्रदर्शनकारीहरू अहिले भृकुटीमण्डपतर्फ लागेका छन्। भृकुटीमण्डपमा राप्रपाको सभा छ। प्रहरीले दमन गरेको भन्दै महामन्त्री ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन्। सडकमा बसेर राप्रपाका नेताहरूले नाराबाजी गरिरहेका छन्।

त्यही क्रममा संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा पनि हानेका थिए। ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो। राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट