‘पार्सल आएको छ’ भन्दै ठगी गर्ने झापाका दम्पत्तिसहित ३ जना पक्राउ
काठमाडौं– ‘विदेशबाट पार्सल आएको छ’ भन्दै सामाजिक सञ्जाल मार्फत ठगी धन्दा चलाउँदै आएका एक महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना पति–पत्नि हुन।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेल, उनका पति ३५ वर्षीय निश्चल पोर्तेल र इलामको माईका ३४ वर्षीय धनवहादुर विकलाई पक्राउ गरेको छ।
सञ्जु र निश्चल पति पत्नि हुन। सञ्जुले अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोलेको पाईएको छ। प्रहरीका अनुसार उनी फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी गर्ने गिरोहमा संलग्न छिन्।
सञ्जुले नेपाली नम्बरबाट ह्वाट्सएप खोलेर पीडितहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीको दाबी छ। पोर्तेलको नाममा भारतीय आधार कार्डसमेत भेटिएको छ। प्रहरीका अनुसार यो गिरोहले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएको छ।