हँसिया भेटियो–भेटिएन जीसी दम्पतिको हत्यारा, ४० प्रहरीको २२ दिनको अनुशन्धानको नतिजा शून्य

काठमाण्डौं– म्याग्दी सदरमुकाम बेनीस्थित अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने रबिन जिसीले पवर्तको जलजला गाउँपालिका–२, मल्लाजमा रहेका आफना बुबाआमालाई फोन गर्छन। बुबाआमासँग प्रायः सधैं कुरा गरिरहने उनको फोन यस पटक उठेन।

घरमा आमाबुबा मात्रै बस्ने भएकाले रविनले छिमेकीलाई फोन गरे। छिमेकीहरु उनका बुबा ६९ वर्षीय सूर्यबहादुर जिसी र आमा ६७ वर्षीय श्रीमती कमला बस्ने घरमा पुगे। घरमा बाहिरबाट ताल्चा लगाएको र गोठमा गाई कराइरहेको देखेपछि उनीहरुले रविनलाई त्यही खबर गरे।

म्याग्दीमै बस्ने माइली बुहारीसहित रविन हतार–हतार घरमा पुगे। विहान करिव ८ वजेको थियो। छिमेकीसहित भएर ढोका खोल्दा बुबाआमा नै मृत अवस्थामा थिए। निर्ममतापूर्वक हत्या गरिएका उनीहरुको शव रगताम्मे अवस्थामा भेटियो। सूर्यबहादुरको शव खाटमा र कमलाको भुइमा घोप्टो अवस्थामा थियो। दुवैको घाँटी र टाउकोमा चोट थियो। उनीहरुको राती नै हत्या भएको थियो।

घट्नाको बारेमा प्रहरी र जनप्रतिनिधिलाई खवर भयो। करिव ९ बजे पुगेको प्रहरीले घट्नास्थल नियन्त्रणमा लिएर प्रारम्भिक अनुशन्धान गर्यो। सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ बेपत्ता थियो। रिङ निकाल्न कमलाको कानको लोती नै च्यातिएको देखियो।

सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको थियो। छेउमा उनीहरुको हत्या गर्न प्रयोग गरिएको हसिँया (रगत लागेको) पनि प्रहरीले वरामद गर्यो। घट्नास्थलको प्रकृति र दृश्यले लुटपाटका लागि उनीहरुको हत्या गरिएको आशंका प्रहरीले गर्यो। त्यसपछि प्रहरी अनुशन्धान जुटेको आज २२औं दिन हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसहित ४० प्रहरी निरन्तर अनुसन्धानमा लाग्दा पनि जिसी दम्पतिको हत्या रहस्यमै छ। अनुसन्धानमा अहिले प्रहरीका ४ युनिट खटिएका छन्। घटनाको सुरुवात (२० चैत) देखि नै जिल्ला प्रहरी कार्यालय पर्वतको टोली खटिएको थियो।

लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटायो। घटनालाई गम्भीर रुपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डीआईजी विकासराज खनाल आफैं घटनास्थल पुगेका थिए। पोखराबाट तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी ३ कार्यालयका अब्बल अनुसन्धान अधिकृत खटिँदा समेत आरोपी पत्ता लाग्न नसकेपछि आईजी वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोली पठाएको छ। सीआईबीको टोली पुगेको पनि १० दिन नाघेको छ।

प्रहरीले यसबीचमा आफन्तसहित शंकास्पद २ हजार जनाभन्दा वढिसँग सोधपुछ गरेको छ। तर, संदिग्धको पहिचान र पक्राउ गर्न सकेको छैन। पर्वत प्रहरीका डीएसपी खुमलाल भुसालका अनुसार निरन्तर अनुसन्धान जारी रहे पनि घटनाको चुरो पत्ता लाग्न सकेको छैन। प्रहरीको अनुसन्धान अहिलेसम्म शून्यमै छ।

घरमै खेतीकिसानी र सानो किराना पसल समेत सञ्चालन गरेका दम्पति हत्यापछि सुनका गरहगहना लुटपाट भएको खुलेपछि प्रहरीले सुनचाँदी व्यवसायीहरुसँग पनि सोधपुछ गरेको थियो। पर्वत, म्याग्दीदेखि पोखरासम्मका सुनचाँदी व्यवसायीलाई पत्राचार गरेर लुटिएका गरगहनाहरु बेच्न ल्याएको थाहा पाए खबर गर्न भनिएको छ।

जिसी दम्पतीले पोखरामा जग्गा किन्ने तयारीमा गरेको थाहा पाएका ब्यक्तिले रकम लुट्ने योजना बनाएर हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। वडाका वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीका अनुसार उनीहरुले पोखरामा डेढ करोडको जग्गा किन्न लागेका थिए। बैना गरिसकेको थियो। चैतभित्रै पास गर्ने तयारी अनुसार उनीहरुले केही दिनअघि मात्रै सहकारीमा ऋण मिलाई सकेका थिए। सहकारीबाट २७ गते मात्रै रकम लिने कागज मिलाएका थिए। दक्षिण कोरियामा रहेका २ भाई छोरा (माईला र कान्छा) ले कमाएको र ऋण लिएर जग्गा पास गर्ने तयारी थियो।

वडाध्यक्ष क्षेत्रीका अनुसार साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख तत्कालै लिने तयारी थियो। यसअघि नै रोक्का भएको जग्गाबाट ५ लाख रुपैयाँ ऋण दिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने बताएको थियो। यसैगरी, मलाज बहुउदेश्यीय सहकारी संस्थाबाट १० लाख रुपैयाँ लिने तयारी थियो।

सोही पैसा घरमा रहेको आशंकामा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि लुटपाटका लागि मात्रै नभएर अन्य कुनै कारण हत्या गरिएको हुनसक्ने सम्भावनालाई पनि मध्यनजर गरिएको डीएसपी भुसालले बताए। लुटपाटको आशंका गरिए पनि जिसी दम्पतीको मोबाइल भने घटनास्थलमै हुनुले प्रहरीलाई अन्य विषयमा पनि सोच्न बाध्य बनाएको छ। जीसी दम्पति दुवै जनाले मोवाईल बोक्ने गरेका थिए। त्यसैले प्राविधिक ज्ञान भएका र पेशेबर व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। हत्याराले मोवाईल नलाँदा अनुशन्धान सहजै निस्कर्षमा पुग्न नसकेको प्रहरीको वुझाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट