आईजीपी हटाउन हरसम्भव प्रयास गरेका रवि लामिछानेले ‘बा–बा’ को अगाडि घुँडा टेके

काठमाण्डौं– सोझासाझा जनतालाई रामराज्यको सपना देखाएर सत्ता स्वार्थको दलदलमा फसेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने वद्लाको भावनाबाट ग्रसित भएर पछिल्ला केही दिन आईजीपी (प्रहरी महानिरिक्षक) वसन्त कुँवरलाई हटाउन कम्मर कसेर लागे।

तर, ‘बा–बा’ (बालकोट–बालुवाटार) ले ढिम्किन नदिएपछि अन्ततः नतमस्तक भएर वसेका छन्। रविको निशानामा आईजीपी कुँवरसहित गृहसचिव एकनारायण अर्याल पनि परेका छन्। दुवैलाई हटाउने योजना लामिछानेको छ। अर्याललाई हटाएर प्रधानमन्त्री कार्यालयमा रहेका कृष्णहरि पुस्करलाई ल्याउने तथा कुँवरलाई हटाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा रहेका एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने योजना उनको छ।

खास गरी कास्की र रुपन्देही प्रहरीमा सहकारी ठगी सम्बन्धमा परेको पूरक जाहेरीले लामिछानेको मनमा बद्लाको भावना जन्माएको देखिन्छ। सहकारी ठगी सम्बन्धी आफु विरुद्धको उजुरी रोक्न नसकेको भन्दै गृहसचिव र आईजीपीको भुमिकालाई लिएर लामिछाने असन्तुष्ट छन्।

स्रोतका अनुसार सूर्यदर्शन सहकारीको पूरक जाहेरी बाहिर आएको र त्यस बारेमा आफूलाई जानकारी नदिएको भन्दै लामिछाने रुष्ट छन्। कास्की प्रहरीमा पूरक जाहेरी गत माघमै परेको भए पनि त्यसलाई गोप्य राखिएको थियो।

यो विषयमा लामिछानेले अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै असन्तुष्टि जनाए। आईजीपी बसन्तबहादुर कुँवरले असहयोग गरेको भन्दै उनलाई हटाउन प्रस्ताव पनि गरे। लामिछानेको प्रश्तावमा प्रधानमन्त्री दाहाल निरुत्तर भए। तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट भाषामा असहमति जनाए। त्यसपछि मरिच झै चाम्रिएका लामिछानेको कोशिश भने जारी छ। उनले आफनो सचिवालयलाई गृहसचिव र आईजीपी हटाउने गरी तयारी थाल्न निर्देशन दिईसकेको बताइएको छ।

यो प्रकरण लगत्तै सुरक्षा अंगका तीन वटै आईजीपी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरुले गृहमन्त्रीले व्यक्तिलाई केन्द्रमा राखेर आईजीपी हटाउनु पर्ने प्रस्ताव गरेको भन्दै असन्तुष्टि मात्र जनाएनन्। यो प्रकरणले सरकारलाई समेत अप्ठेरो पर्ने र निर्वाचनको बेला नकारात्मक सन्देश फैलन सक्ने भन्दै घुमाउरो पारामा चेतावनी दिएर फर्किए।

उसो त, गत चैतमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले आईजीपी कुँवर र कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई सँगै लिएर गएका थिए। उनीहरुले त्यहाँ लामिछानेको सक्दो वचाउ गरेपनि वास्तविक्ता भने फरक पर्यो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा एआईजी किरण बज्राचार्य हुँदैखेरी सहकारी ठगीमा रवि लामिछानेको विषयमा सबै फाइल मगाएर अनुसन्धान शुरु भएको थियो। त्यहीकारण लामिछानेले ६० किलो सुन तस्करी प्रकरणमा डामेर बज्राचार्य लगायतको टीमलाई सरुवा गरिदिए। त्यसपछि त्यो अनुसन्धान रोकिएको छ।

यही प्रकरणमा गृहमन्त्री र आईजीपीको सम्बन्ध चिसिएको देखेपछि एआईजी श्याम ज्ञवालीले उनीहरुको बीचमा खेल्ने प्रयास गरेका छन्। आगामी २६ भदौमा उमेर हदका कारण अनिवार्य अवकाशमा जानु पर्ने बाध्यतामा रहेका ज्ञवाली कुँवरलाई लडाउन पाए आफनो पनि पालो आउनले लोभमा छन्। सके कुँवरलाई हटाएर नसके प्रहरी नियमावली संशोधन गरेर भएपनि आईजीपी बनेरै घर फर्किने योजनामा ज्ञवाली रहेको स्रोतको दावी छ।

तर, यहीबीचमा प्रधानमन्त्री दाहालले गृह जिल्ला चितवन पुगेर ‘आईजीपी फर्ने कुरा हल्लामात्रै हो’ भन्दिएपछि लामिछाने र ज्ञवाली दुवै सुस्त भएका छन्। त्यसअघि प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरेर प्रहरी संगठन र नागरिक स्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै हल्लाको खण्डन गरेको थियो।

त्यस यता गृहमन्त्री लामिछानेले आईजीपी कुँवर भन्दा ज्ञवालीलाई नै साथमा राखेर काम गरिरहेका छन्। लामिछानेले प्रहरीका काम कारबाहीबारे सूचना संकलन गर्न र निर्णयबारे सहयोग गर्न पूर्व प्रहरी उच्च अधिकृतहरूको अनौपचारिक समूह पनि बनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट