तुलसीपुरमा वाढीले बगाएको अटोको इन्जिन र एउटा टायर भेटियो, दुवै शवको सनाखत
काठमाण्डौं– दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित नवलपुर ठूलो खोलाको बाढीले शुक्रबार बेलुका बगाएका २ जनाको शवसहित अटोरिक्साको इन्जिन र एउटा टायर फेला परेको छ।
तुलसीपुरबाट खान्द्रे जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो शुक्रबार साँझ बाढीले बगाउँदा तुलसीपर–४, खाद्रेकी ५५ बर्षीया सीता आले र सुर्खेतको गुर्वाकोट नगरपालिका–१४, तेप्टेकाँडा घर भई तुलसीमा बस्दै आएकी १७ वर्षीया मन्जु खड्का वेपत्ता भएका थिए।
मन्जु एसइई पास भएपछि ११ कक्षा पढ्न १ महिनाअघि तुलसीपुर आएर काकी हस्तमाया रोकाको घरमा वस्दै आएकी थिईन। तुलसीपुरस्थित गोरखा माविमा विज्ञान विषय लिएर उनी कक्षा ११ मा भर्ना भएकी थिईन।
शुक्रबार मन्जुलाई भेट्न खान्द्रेस्थित मावलीबाट हजुरआमा सीता र माइजु ३४ वर्षीया सुनिता थापा तुलसीपुर आएका थिए। शनिबार बिदा भएकाले शुक्रबारै उनी हजुरआमा र माइजुसँग मामाघर हिडेकी थिईन। अटोमा मञ्जु, सीता, सुनिता र उनका ७ वर्षीय छोरा सुशान्त आले थिए।
सुनिताले प्रहरीलाई दिएको जानकारी अनुसार खोलामा पुग्दा साँझ करिव ७ बजेको थियो। खोलामा बाढी देखेपछि उनले अटो खोलामा नहाल्न भनिन्। तर, चालकले नमानेर जवर्स्ती खोलामा अटो हाले। बीचमा पुगेपछि अटो वन्द बयो। त्यसपछि सुनिता छोरालाई बोकेर खोलको डिलमा पुगिन। उनी फर्केर आउँदा सीता र मन्जुसहितको अटो खोलाले बगायो। चालकलाई स्थानीयले उद्धार गरे।
मन्जुको शव अटो बगाएको स्थानभन्दा करिव ५५ किलोमिटर टाढा बबई गाउँपालिका–५ खैरभट्टी भन्ने ठाउँमा भेटिएको छ। सीताको शव शनिवार विहान करिव १५ किलोमिटर तल तुलसीपुर–१५, हरिपौरी गनारीस्थित ग्वार खोलामा भेटिएको थियो।
अटोको इन्जिन र एउटा टायर शनिबार बेलुका तुलसीपुर–७, कालोखोलाको मन्दिर नजिकै पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुनिताका अनुसार अटोचालक खाद्रेकै ४६ वर्षीय हरिकिशन विकको जबर्जस्तीका कारण यो दुर्घटना भएको हो।
हरिकिशनले भने ‘बाढी आएकाले खोला तर्न सकिँदैन’ भन्दाभन्दै यात्रुले जबरजस्ती गर्दा दुर्घटना भएको बताएका छन्। ‘बीचमा पुगेपछि अटोको स्टार्ट बन्द भयो। त्यसपछि मैले सवैलाई छिटो ओर्लिएर जान भनेँ। त्यतिखेर अगाडि बसेका आमा छोरा मात्रै ओर्लिर जानु भयो, अरु झर्नु भएन’ उनले भनेका छन्–‘बुहारीले भन्दापनि उहाँकी सासु झर्न मान्नु भएन। त्यही बेला ठूलो बाढी आयो र बगाएर लग्यो।’
यो पनि,