निकट नेतासँग जनार्दन भन्छन्– प्रचण्डको कुरा छोडौं, अव दोस्रो तहका नेताले पनि पार्टी थेग्न सक्दैनन

काठमाण्डौं– उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्व तेस्रो तहका युवालाई हस्तान्तरण गर्न माग गर्दै १४ पन्ने प्रश्ताव पेश गरेपछि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटि वैठक गर्माएको छ।
२५ साउनमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा पेस गरेको प्रश्तावमा जनार्दनले यस्तो माग गरेका हुन्। उनले हालसम्मको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयासलाई संस्थागत गर्न पनि त्यो आवश्यक रहेको औँल्याएका छन्। त्यसका लागि केन्द्रीय कमिटी भङ्ग गरी अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाइ प्रत्यक्ष निर्वाचनमार्फत तेस्रो तहका युवालाई नेतृत्व दिन सकिने उनको प्रस्ताव छ।
शर्माले अब अध्यक्ष प्रचण्डले वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरेका छन्। तर, पार्टीको नेतृत्व भने तेस्रो तहका युवामा पुग्नैपर्ने उनको जोड छ। उनले आफैँलाई पार्टी नेतृत्व चाहियो त भनेका छैनन् तर, अबको नेतृत्व प्रचण्ड लगायत उनको तहका नेतामा रहन नदिनेमा उनी स्पष्ट रुपमा अघि वढेका छन्।
उनले अव एकैपटक पार्टी नेतृत्व तेस्रो तहका युवामा पु¥याउन खोजेका छन्। तर, प्रधानमन्त्रीका रुपमा भने प्रचण्डलाई नै अगाडि बढाउने प्रस्ताव उनको छ। यो विषयमा उनको गुटमा व्यापक छलफल चलिरहेको छ।
‘अब अध्यक्ष प्रचण्डको के कुरा, दोस्रो तहकै नेताले पनि अहिलेका युवासँग प्रतिस्पर्धा गर्न सक्दैनन्। त्यसैले अब तेस्रो तहमा नेतृत्व जानुपर्छ।’– उनले आफूनिकटका तेस्रो तहका नेताहरूसँग भन्ने गरेका छन्।
शर्मानिकटका नेताहरू पनि बालेन शाह–हर्क साम्पाङहरूसँग प्रतिस्पर्धा गर्न अब तेस्रो तहकै युवाले पार्टी नेतृत्व लिनुपर्ने बताउँछन्। यता अध्यक्ष प्रचण्ड भने पार्टीभित्र कोही पनि नेतृत्वका लागि योग्य भएको विश्वास नै गर्दैनन्। उनले सार्वजनिक रूपमै ‘गरिखाने जस्तो’ कोही नदेखिएको बताउने गरेका छन्।
पार्टीभित्र उत्तराधिकारी घोषणा गरेर माओले झैँ गल्ती नगर्ने बताउँदै आएका प्रचण्डले आफूलाई संस्मरण लेखेर बस्न मन लाग्ने तर, पार्टी अरुको साथमा छाड्न भर नलाग्ने बताउने गरेका छन्।