गठ्ठाघर दुर्घटनाः ३० वर्षअघि दाजुलाई राज्यले घेरा हालेर मार्यो, अहिले भाईलाई ट्रकले किचेर

काठमाण्डौं– भक्तपुर मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरमा बिहीबार दिउँसो २ बजे ना६ख २१७३ नम्बरको ट्रकले किचेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ४, छहरेतलुवाका ६५ वर्षीय उत्तम कोइरालाको दर्दनाक मृत्यु भयो।
बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै गरेका कोईरालालाई सोही दिशातर्फ जाँदै गरेको मालवाहक ट्रकको अगाडिको टायरले ठक्कर दिएर घिसार्दै पछाडिको टायरसम्मै पु¥याएको थियो। उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएर क्षतविक्षेत भएको थियो।
ट्राफिक प्रहरीको लुकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेर आन्दोलन गरे। गठ्ठाघरको अवस्था तनावग्रस्त बन्यो। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गर्यो।
दुर्घटनास्थलको सीसीटीभी फुटेजमा देखिएअनुसार कोटेश्वर हुँदै भक्तपुर जाने बायाँ लेनको मुख्य सडकमा कोइराला सवार स्कुटर र मालवाहक ट्रक एउटै दिशातर्फ जाँदै थिए। स्कुटर दाँयातर्फको साइडतर्फ गुडिरहेको थियो भने ट्रक बीच भागमा थियो। स्कुटर चालक कोइरालाले दायाँ साइडबाट एक्कासि बीचतर्फको लेनमा स्कुटर ल्याउँदा ट्रकले उनलाई ठेल्दै अगाडि वढेको देखिन्छ। त्यसपछि कोईराला ट्रकको चक्काभित्र फसेका हुन्। दुर्घटना भएकै ठाउँमा ट्राफिक प्रहरीले ‘स्पिड गन’ मार्फत ‘स्पिड चेकिङ’ समेत गरिरहेको थियो।
भिडियोमा ट्राफिक प्रहरीले स्कुटरलाई रोकेको देखिदैन। तर, दायाँ साइडमा भने चेकिङकै लागि अस्थायी डिभाइडर राखेको देखिन्छ। त्यही डिभाइडरलाई छल्न बायाँ साइड आउन खोज्दा ट्रकले स्कुटरलाई ठक्कर दिन पुगेको प्रहरीको भनाइ छ। सोहीकारण ट्राफिकका कारण दुर्घटना भएको भन्दै स्थानीय अन्दोलित भएका हुन।
आन्दोलनकै क्रममा दोलखाका शम्भु नेपाली आत्तिदै दुर्घटनास्थल पुगे। उनले मृतक आफ्नै बहिनी रहेको जानकारी दिएपछि प्रहरीले पनि सोही अनुसार शवको सनाखत भएको सार्वजनिक गर्यो। तर, मृतक भनिएकी महिला साँझ प्रहरीमा पुगेपछि अन्यौल थपियो। पछि उनको साथमा भएका कागजपत्रका आधारमा मृतक ओखलढुङ्गाका कोईराला भएको पुष्टि गर्यो।
यता, प्रहरी नियन्त्रणमा रहेका ट्रक चालक श्रेष्ठले भने आफूले स्कुटर आफ्नो अगाडि आएको नदेखेको बयान दिएका छन्। ‘मैले स्कुटर मेरो अगाडि आएकै देखिनँ। म आफ्नै गतिमा थिए। मैले गल्ती चलाए जस्तो लाग्दैन। चक्काभित्र छिरेको नै थाहा नहुँदा घिस्रिन पुग्यो। स्कुटर चालकले दायाँ साइडबाट बायाँ च्याप्दा ‘स्लो’ चलाउँदा चक्काभित्र छिरेजस्तो लाग्छ।’– श्रेष्ठले भनेका छन्।
को हुन उत्तम कोईराला ?
उत्तम कोइराला सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ। महेश कोइराला २०३१ सालमा कांग्रेसले पञ्चायत विरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए।
नेपाली कांग्रेसले टिम्मुरबोटे काण्ड भन्ने गरेको त्यो घटनालाई नेपालको इतिहासमा ओखलढुंगा काण्ड भनेर चिनिन्छ। राति गुफामा बास बसेका महेश कोईरालासहित १९ जना कांग्रेसका मुक्ति सेनालाई सुरक्षा निकायले घेरा हालेर मारेको थियो। कोइरालाको परिवारले गाउँ छोडेर काठमाडौं बस्न थालेको १५–२० वर्ष भएको छ।
जानकारी अनुसार उत्तम पहिले जनकपुर चुरोट कारखानामा काम गर्थे। त्यहाँबाट रिटायर्ड भएपछि घरमा रङ लगाउने काम गर्थे। कोइरालाका बुबा तेजप्रसादका दुई श्रीमती थिए। जेठीपट्टिका छोरा महेश शहीद भएका थिए भने उत्तम कान्छीपट्टिका छोरा हुन्। उत्तम परिवारसहित काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, मिलनचोकमा बस्दै आएका थिए।
उत्तमका श्रीमती यन्जु र तीन छोरी छन्। जेठी छोरी अष्ट्रेलियामा छिन् भने माइली छोरी हप्तादिन अघि मात्रै अमेरिका पढ्न गएकी थिइन्। कान्छी छोरी भने काठमाडौंमा पढ्दैछिन्।
यो पनि,
- – हिजो गठ्ठाघरमा भएको के थियो ? यस्तो छ घट्ना विवरण
- – गठ्ठाघरमा ट्रकको ठक्करबाट मारिने महिला नभई पुरुष भएको पुष्टी
- – गठ्ठाघरमा ट्रकको ठक्करबाट मारिएको भनिएकी सुष्मा नेपाली सम्पर्कमा आएपछि प्रहरीलाई तनाव
- – गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटरमा सवार महिलाको पहिचान खुल्यो
- – ट्रकको ठक्करबाट घाईते स्कुटर चालक महिलालाई ब्याक गरेर मारेको भन्दै गठ्ठाघरमा तनाव, प्रहरीले हान्यो अश्रुग्याँस