रवि लामिछानेलाई मुद्दामा सहुलियत दिएका न्यायाधीबक्ता लुँईटेलको रातारात सरुवा

काठमाडौँ– चितवनको सहारा सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएकै दिन सरकारी वकिलको कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुईँटेलको सरुवा भएको छ।

दिउँसो रविविरुद्ध मुद्दा दर्ता गराएका लुइँटेलले साँझ करिब सात बजे काज सरुवाको पत्र पाएका हुन। लुँईटेलले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा रविसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दर्ता गराएका थिए।

रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको छ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएपछि रविलाई चाहिँ किन संगठित अपराधमा मुद्दा चलाईएन भन्ने विषयमा प्रश्न उठेको थियो। लगत्तै लुईटेलले सरुवाको पत्र पाएका हुन।

चितवन रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको र समर्थक धेरै रहेका कारण संगठीत अपराधमा मुद्दा चलाउँदा अप्ठ्यारो पर्न सक्ने आँकलन गरी लुईँटेलले जोखिम लिन नचाहेको कतिपयको आशंका छ। रविका समर्थकहरुका अनुसार जसरी पनि संगठित अपराध मुद्दा चलाउन लुईंटेलमाथि दबाब थियो।

तर, रास्वपासमेत सहभागि भएको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा चितवनका न्यायाधिवक्ता बनेका लुँईटेलले दबाबलाई वेवास्ता गर्दा सरुवा भोग्नु परेको आरोप लाग्न थालेको छ।

उनले अघिल्लो वर्ष कात्तिक २० गतेदेखि चितवनमा जिम्मेवारी सम्हालेका थिए। सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको स्रोतले बतायो। उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ। महान्यायाधिवक्ता कार्यालय स्रोतले भने उनले गरेको अभियोजनमा केही प्रश्न उठेपछि जिम्मेवारी हेरफेर भएको जनाएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।

यसअघि गत ८ असोजमा पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो। उक्त मुद्दामा जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट