भारतीय मिडियासम्म पुग्यो बालेन सरकारको आलोचनाः ‘जेन–जी आइकन नै किन बन्दैछन् जेन–जीको एंगर?’

काठमाडौँ— केही महिनाअघि परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा उदाएका प्रधानमन्त्री बालेन्द्र साह अहिले आफ्नै समर्थक पुस्ताको आलोचनाको केन्द्रमा पुगेका छन्। काठमाडौंका सडकमा सुरु भएको असन्तुष्टि अब केवल संसद्, सामाजिक सञ्जाल वा राजनीतिक वृत्तमा सीमित छैन। भारतीय सञ्चारमाध्यमहरूले समेत नेपाल सरकारको कार्यशैली, जेन–जी आन्दोलनप्रतिको व्यवहार, सुकुम्बासी व्यवस्थापन, अभिव्यक्ति स्वतन्त्रताको प्रश्न र गणेश नेपालीको आत्मदाहसँग जोडिएका घटनालाई प्राथमिकताका साथ उठाउन थालेपछि यो बहस अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

जेन–जी आन्दोलनपछिको चुनावमा झण्डै दुईतिहाइ जनमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अहिले विपक्षी दल मात्र होइन, आफ्नै दलका सांसद, समर्थक र आन्दोलनका अभियन्ताहरूले समेत प्रश्न उठाइरहेका छन्। यही पृष्ठभूमिमा भारतका प्रमुख टेलिभिजन नेटवर्क, डिजिटल प्लेटफर्म र राष्ट्रिय दैनिकहरूले प्रधानमन्त्री साहको नेतृत्वशैलीमाथि केन्द्रित सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्न थालेका छन्।

सबैभन्दा बढी चर्चा पाएको विषय प्रधानमन्त्री साहको कार्यशैली र सरकारप्रति बढ्दो असन्तुष्टि हो। बीबीसी हिन्दीले नेपाली दैनिक कान्तिपुरमा प्रकाशित समाचारलाई आधार बनाएर ‘बालेन साहविरुद्ध उनकै पार्टीका सांसदहरूमा किन बढ्दै छ असन्तुष्टि ?’ शीर्षकमा विस्तृत सामग्री प्रकाशित गरेको छ। उक्त सामग्रीमा प्रधानमन्त्री बनेको चार महिना नपुग्दै साहमाथि विपक्षी दलसँगै आफ्नै दलभित्रबाट प्रश्न उठ्न थालेको उल्लेख गरिएको छ।

बीबीसी हिन्दीले रास्वपाका कम्तीमा छ सांसदले सार्वजनिक रूपमा सरकारप्रति असन्तुष्टि व्यक्त गरेको विषयलाई विशेष महत्व दिएको छ। भारतीय टेलिभिजन नेटवर्क आजतकले भने गणेश नेपालीको मृत्युपछि विकसित घटनाक्रमलाई केन्द्रमा राख्दै ‘कालो चश्मा फुकाल्नुस् भन्दै नेपालमा जेन–जीको प्रदर्शन, प्रधानमन्त्री बालेन साहको राजीनामा माग’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा एक राइड–सेयर चालकको मृत्युले कानुनी तथा प्रशासनिक प्रश्न मात्र नभई सरकारको जवाफदेहितामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ।

युवा प्रदर्शनकारी, विपक्षी दल र नागरिक समूहले जिम्मेवार अधिकारीमाथि कारबाही र राजनीतिक उत्तरदायित्वको माग गरिरहेको विषयलाई पनि आजतकले समेटेको छ।

प्रधानमन्त्री साहको सार्वजनिक छविसँग जोडिएको ‘कालो चश्मा’ पनि भारतीय मिडियाको सामग्रीमा प्रतीकात्मक रूपमा प्रस्तुत हुन थालेको छ। आजतकले केही सांसदले संसदभित्रै प्रधानमन्त्रीलाई ‘कालो चश्मा उतारेर जनताको सामना गर्न’ चुनौती दिएको प्रसंग उल्लेख गरेको छ।

इन्डिया टुडे समूहले जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक वातावरणलाई फरक कोणबाट प्रस्तुत गरेको छ। इन्डिया टुडेको डिजिटल संस्करणले सरकारविरुद्ध युवा पुस्ता फेरि सडकमा फर्किएको समाचार प्रकाशित गरेको छ भने इन्डिया टुडे टेलिभिजनले चुनावी अभियानका दृश्य र पछिल्ला विरोध प्रदर्शनलाई एउटै फ्रेममा राख्दै ‘जेन–जी आइकन नै जेन–जीको एंगर बन्दैछन् ?’ भन्ने प्रश्न उठाएको छ। समाचारमा केही महिनाअघि परिवर्तनको आशा जगाएका नेतामाथि अहिले त्यही पुस्ताले प्रश्न उठाउन थालेको सन्देश प्रवाह गरिएको छ।

जीन्युज र टाइम्स नाउले पनि गणेश नेपालीको मृत्युपछि विकसित आन्दोलनलाई प्राथमिकता दिएका छन्। टाइम्स नाउले ‘जेन–जी प्रोटेस्ट्स रक नेपाल’ शीर्षकमा भिडियो सामग्री प्रसारण गर्दै सरकारविरुद्ध चर्किँदै गएको विरोधलाई मुख्य समाचार बनाएको छ। किसानहरूले आफ्नो उत्पादनको मूल्य नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा गरेको टमाटर प्रदर्शनलाई समेत टाइम्स नाउले सरकारप्रतिको असन्तुष्टिको संकेतका रूपमा चित्रित गरेको छ।

एनडीटीभीले भने विषयलाई अझ राजनीतिक सन्दर्भमा प्रस्तुत गरेको छ। ‘बालेनबाट जेन–जीलाई धोका’ शीर्षकमा प्रकाशित सामग्रीमा केही महिनाअघि युवा आन्दोलनको लहरबाट सत्तामा पुगेका प्रधानमन्त्री अहिले त्यही युवा मतदाताको असन्तुष्टिको सामना गरिरहेको उल्लेख गरिएको छ। काठमाडौंका सडकमा देखिएको नयाँ आक्रोश परिवर्तनको वाचा पूरा नभएको अनुभूतिसँग जोडिएको विश्लेषण एनडीटीभीले गरेको छ।

भारतको प्रतिष्ठित अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले पनि गणेश नेपालीको आत्मदाह प्रयासपछि उत्पन्न आन्दोलन र सुकुम्बासी व्यवस्थापनसम्बन्धी विवादलाई समाचारको केन्द्रमा राखेको छ। उचित पुनस्र्थापनाविना बस्ती हटाइएको आरोप र त्यससँग जोडिएका सामाजिक प्रतिक्रिया पनि समाचारमा समेटिएका छन्।

त्यस्तै, इन्डिया टुडे समूहअन्तर्गतको लोकप्रिय डिजिटल प्लेटफर्म लल्लनटप ले ‘को हुन् गणेश नेपाली, जसको मृत्युपछि सडकमा उत्रिए जेन–जी ?’ शीर्षकमा विस्तृत सामग्री प्रकाशित गरेको छ। गणेश नेपालीको घटनासँगै सुकुम्बासी बस्ती हटाउने अभियान, अभियन्ता माजिद अन्सारीको पक्राउ तथा सरकारमाथि उठेका आरोपहरूलाई एउटै सन्दर्भमा राखेर विश्लेषण गरिएको छ।

भारतको प्रभावशाली दैनिक हिन्दुस्तान टाइम्सले पनि सरकारविरुद्ध बढ्दो प्रदर्शनलाई प्राथमिकता दिएको छ। उता फस्र्टपोस्टले ‘नेपालमा मिलेनियल नेता बालेन साहविरुद्ध जेन–जीको आक्रोश किन चुलियो ?’ शीर्षकमा एक्सप्लेनर प्रकाशित गर्दै डोजर अभियान, पार्किङ विवाद, गणेश नेपालीको आत्मदाह र त्यसपछि विकसित राजनीतिक वातावरणलाई जोडेर विश्लेषण गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूको चासो केवल विरोध प्रदर्शनमा सीमित छैन। भारतीय समाचार संस्था एएनआईले प्रधानमन्त्री साहको सम्भावित भारत भ्रमणबारे समाचार प्रकाशित गरेपछि त्यसलाई फस्र्टपोस्टसहित अन्य मिडियाले पनि महत्व दिएका छन्। एएनआईले काठमाडौं र नयाँदिल्लीबीच भ्रमणको तयारीबारे छलफल भइरहेको दाबी गर्दै भ्रमणको समय भने अन्तिम रूप नपुगेको जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि सरकारको कार्यशैलीमाथि विदेशी सञ्चारमाध्यमको ध्यान जानु आफैंमा अस्वाभाविक होइन। तर सत्तारोहणको छोटो अवधिमै अन्तर्राष्ट्रिय मिडियामा आलोचनात्मक सामग्रीहरूको संख्या बढ्नु भने राजनीतिक संकेतका रूपमा हेरिएको छ। विशेषगरी परिवर्तनको नारासहित उदाएको नेतृत्वमाथि त्यही परिवर्तनको अपेक्षा राख्ने समूहबाट प्रश्न उठ्न थालेपछि त्यसले व्यापक चासो पाएको देखिन्छ।

यद्यपि सरकार निकट वृत्तले भने भ्रष्टाचारविरुद्ध कडा नीति, प्रशासनिक हस्तक्षेप र संरचनागत सुधारका प्रयासका कारण प्रतिरोध बढेको दाबी गर्दै आएको छ। सरकारको तर्क र आलोचकहरूको आरोपबीचको बहस जारी रहे पनि एउटा तथ्य भने स्पष्ट देखिएको छ— प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैली अहिले नेपालभित्रको राजनीतिक बहस मात्र होइन, दक्षिण एसियाली सञ्चार जगतको समेत चर्चाको विषय बनिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट