२४५१ किलो गाँजाले गन्हाएको प्रहरी फेरि अर्को विवादमा, ३० लाख नदिएपछि गाँजा तस्कर भन्दै बुधन पक्राउ

राजविराज — साढे तीन महिनाअघि राजविराज–९ स्थित एक गोदाममा २४५१.५ किलो गाँजा बरामद भएको चर्चित घटनामा आरोपितलाई भगाएको, प्रमाण नष्ट गरेर जोगाएको र अदालतलाई भ्रमित बनाएको आरोप खेपिरहेको सप्तरी प्रहरीले फेरि अर्को गाँजा काण्डमा आफ्नै विश्वसनीयता गुमाएको छ।

एसपी ढकेन्द्र खतिवडालाई ३० लाख रुपैयाँ नदिएको झोंकमा हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी ब्यारेजका ३५ वर्षीय होटल व्यवसायी जोगानन्द मण्डल उर्फ बुधनलाई ‘लागू औषध गाँजा तस्करीसम्बन्धी फरार प्रतिवादी’ भन्दै असार १ गते राति पक्राउ गरेको प्रकरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीप्रति तीव्र आलोचना भइरहेको छ।

सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले असार ३ गते जारी गरेको विज्ञप्ति अनुसार बुधनलाई राति ९ बजे इलाका प्रहरी कार्यालय भारदह अगाडिको ट्राफिक चेकप्वाइन्टबाट पक्राउ गरिएको थियो। उनी हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी ब्यारेजमा रहेको ‘होटल होलिडे’ का सञ्चालक हुन्।

प्रहरीका अनुसार, २०७९ पुसको दोस्रो साता हनुमाननगर–१ को गोलघरदेखि ५ सय मिटर उत्तर–पूर्व कोशीको भंगालोको टापुमा बुधनसहितको समूहले गाँजा लुकाएको सूचना आएपछि पुस १४ गते साँझ करिब साढे ७ बजे प्रहरी टोली सो स्थान पुगेको थियो।

बालुवा खनेर हेर्दा २७ बोरा (८१० किलो) गाँजा बरामद भएको थियो। यही सूचनाको भरमा बुधनलाई प्रहरीले प्रतिवादी बनाइएको थियो। तर सामाजिक सञ्जालमा सार्वजनिक भएको भीडीओमा परिवारले दिएको जानकारी अनुसार उनी न त घटनास्थलबाट पक्राउ परे, न त प्रत्यक्ष प्रमाणसहित मुद्दामा संलग्न थिए।

पक्राउ पर्ने डरले बुधनले प्रहरीलाई मिलाएर राखे। पैसा बुझाउँदै गए। पैसा बुझेसँगै प्रहरी पनि मौन बस्यो। उनी फरार सूचिमा रहेका नाम मात्रका अभियुक्त बने। न त उनलाई समातियो, न त उनी लुक्न बाध्य भए। बरु बुबा भागवत र ६ दाजुभाइ मिलेर उनले कोशी ब्यारेजमै होटल चलाए। साथै ठेक्कापट्टामा समेत लागे।

यस अवधिमा प्रहरीका घुमुवा कर्मचारीहरू होटलमा मनलाग्दी खाने, विल नतिरी निस्किने कार्य भइरह्यो। बुधनका भाइ अखिलेश मण्डलले प्रहरी चन्दु मण्डल र अर्का एक घुमुवाले खाएको १५५० र २९२५ रुपैयाँको दुई उधारो बिल अहिलेसम्म नतिरेको देखाएका छन्।

०८१ वैशाख १८ गते घनश्याम मुखिया नामक व्यक्ति ब्राउन सुगरसहित पक्राउ परेको घटनामा समेत बुधनलाई प्रतिवादी बनाइएको छ। मुद्दा अदालतमा चलिरहेको छ। स्रोतका अनुसार बुधनविरुद्ध लागू औषध सम्बन्धी झण्डै आधा दर्जन मुद्दा छन्।

यी सबै मुद्दामा उनी प्रहरीलाई ‘किन्दै’ गएको परिवारको दाबी छ। प्रहरीलाई हालसम्म करिब १० लाख रुपैयाँ बुझाएको उनका भाई अखिलेशले दाबी गरेका छन्। ०८१ मंसिर १६ गते राति ९ बजेर २५ मिनेटमा इलाका प्रहरी कार्यालय भारदहका तत्कालीन इन्चार्ज (हाल कडरबोना) वरिष्ठ सई विश्वनाथ त्रिपाठीले प्रहरी पोशाकमै होटलमा पुगेर ४ लाख रुपैयाँ लिँदै गरेको भिडियोसमेत सार्वजनिक भएको छ।

तर, एसपी खतिवडा सप्तरी प्रहरी प्रमुखका रूपमा आएपछि अवस्था बदलियो। प्रहरीका घुमुवाहरूले ‘एसपीको आदेश’ भन्दै बुधनसँग एकमुष्ट ३० लाख रुपैयाँ माग गर्न थाले। भाइ अखिलेश र बुबा भागवतका अनुसार, ‘पैसा दिए जोगिन्छ, नत्र पक्राउ पर्छ’ भन्दै प्रहरीले बारम्बार धम्क्याउँदै आएको थियो। यथासम्भव बार्गेनिङ गरेर डिमान्ड टार्ने प्रयास गरे पनि असार १ गते प्रहरीको टोलीले बुधनलाई पक्राउ ग¥यो।

पक्राउ गर्ने दिनसमेत प्रहरीले बुधनलाई अन्तिम मौका दिएको थियो। ‘एक घण्टाभित्र १० लाख ल्याए छोडिदिन्छौं’ भन्दै प्रस्ताव गरे। तर, रकम जुटाउन नसकिएको बुबा भागवत बताउँछन्। ‘मेरो छोराले कुनै अपराध गरेको छैन, पैसा नदिँदा फसाइएको हो’– उनी भन्छन्।

पक्राउपछि पनि प्रहरी घुमुवाहरूले ह्वाट्सएपमार्फत सम्पर्क गर्दै ‘एसपी सापलाई भेट, मिलाउने हो भने छुट्छ’ भन्दै बार्गेनिङ गर्ने गरेको आफन्तहरूको भनाइ छ। अहिले फेरी १५ लाख रुपैयाँ मागिएको उनीहरूको आरोप छ।

प्रहरीको साख गिराउने अर्को गम्भीर प्रकरण हो — नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता कुमारी साहको नाम जोडिएको गाँजा गोदाम। १९ फागुनमा प्रहरीद्वारा राजविराज–९ स्थित गोदामबाट बरामद २४५१.५ किलो गाँजासँगै सयौं बोरा सेनिटरी प्याड पनि भेटिएका थिए। ती प्याड ललिताको कम्पनी ‘लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स’ को थियो।

तर प्रहरीको बरामदी मुचुल्का र अभियोग पत्रमा सेनिटरी प्याडको एक शब्द पनि उल्लेख छैन। प्रहरीकै इन्स्पेक्टर उदयकुमारले भनेका छन् — ‘लागू औषध नभएको र अख्तियारमा मुद्दा चलिरहेकोले प्याड उल्लेख नगरेका हौँ।’

तर यत्ति नै हो भने प्रश्न उठ्छ— त्यसमा न त भन्सारको प्रसंग थियो, न लागू औषधको। बरु यो प्रमाण हो जसले गाँजा गोदामको स्वामित्व र प्रयोगकर्तालाई जोड्न सक्छ। यो हटाइनु प्रमाण नष्ट गर्ने प्रयत्न ठहरिन्छ।

सप्तरीकै रूपनी गाउँपालिकामा सेनिटरी प्याड आपूर्तिमा भएको भ्रष्टाचार मुद्दामा ललिता साहमाथि मुद्दा चल्नु, उनले रकम फिर्ता गर्नु तर अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्नु तथा उनकै पति र आमाको गाँजा गोदाममा सेनिटरी प्याडको भण्डारण भेटिनु अनि अहिलेसम्म त्यो प्याडमाथि दाबी गर्न कोही नआउनु केवल संयोग मात्रै होईन।

तर, गाँजा गोदाममा भेटिएको त्यो प्याड मुद्दाबाट गायब पारेर ललितालाई जोगाउन खोज्नु र अनि गाँजा तस्करीका मुख्य अभियुक्त उनका पति राजनारायण साह र आमा पवित्रीदेवी साहुलाई प्रमाण संकलनको वहानामा भाग्नका लागि एक साताको समय उपलब्ध गराउनु प्रहरीको नियोजित चलखेल थिएन भनेर भन्न सक्ने अवस्था छैन।

यसले प्रहरीमा पैसाको चलखेल र राजनीतिक वा पत्रकार संगठनको दबाबमा प्रमाण नष्ट गरिएको र अनुसन्धान प्रभावित भएको पुष्टि गर्छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट