कोशी प्रदेशमा सुरु भयो भावी मुख्यमन्त्रीको दाउपेच, कार्कीले नपाउने नै भए विश्वासको मत ?
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिँने तयारी गरेका छन्। ४० सांसद रहेको एमालेका कार्कीले विश्वासको मत पाउने आधार भने देखिएको छैन । कार्कीले विश्वासको मत नपाउने भएपछि अवको मुख्यमन्त्री को बन्ला भन्ने चासो वढेको छ।
संविधानअनुसार प्रदेश सरकार गठनको अन्तिम विकल्प धारा १ सय ६८ को उपधारा ५ अनुसार अब सदनमा रहेका जुनसुकै सदस्यले समेत मुख्यमन्त्रीको दाबी गर्न पाउनेछन् । प्रदेश प्रमुखले विश्वासको मत पाउन सक्ने आधार देखेमा त्यस्तो जुनसुकै सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक ब्यवस्था छ।
तर, अहिलेसम्म सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि यो विषयमा निर्णय गरेको छैन । दुईपटक कांग्रेस नेतालाई मुख्यमन्त्रीमा साथ दिएकाले गठवन्धनले उपधारा ५ अनुसारको मुख्यमन्त्री कांग्रेसबाहेकले पाउनुपर्ने माग दलहरूभित्र उठ्दै आएको छ । तर, कांग्रेस अझै पनि नेतृत्व छोड्ने पक्षमा छैन। गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस र जसपा छन्।
कांग्रेस पटाडि माओवादीले मुख्यमन्त्री दावी गरिरहेको छ भने माओवादीलाई क्रस गर्दै नेकपा एकीकृत समाजवादीले भने गठबन्धनभित्र आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको छ ।
उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री भएको व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ४७ जना सांसद विपक्षी गठबन्धनमा पुगे पनि एमालेले विश्वासको मत हुनुपूर्व उपसभामुखलाई राजीनामा गराएमा र राप्रपाले समेत गठबन्धनलाई असहयोग गरेमा विपक्षी गठबन्धनको मुख्यमन्त्रीले समेत विश्वासको मत पाउन नसक्ने अवस्था बन्न सक्नेछ ।
त्यो अवस्था आए सरकार बन्ने अन्तिम विकल्प समेत सकिन्छ र प्रदेशसभा विघटन हुन सक्ने सम्भावना देखिन्छ ।