नवजात शिशु बिक्री गर्ने डाक्टर र बच्चाका बाबुसहित तीन जनालाई जेल हाल्ने अदालतको आदेश

विराटनगर– नवजात शिशु बिक्री प्रकरणमा पक्राउ परेका स्त्रिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डाक्टर कर्णसहित तीन जननालाई कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। कर्णसहित कटहरी–४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई अदालतको आदेशपछि जेल गएका छन्।

विराटनगर स्थित ग्रिनक्रश अस्पतालबाट नवजात शिशु विक्रि गरेको प्रकरणमा डेढ महिनाअघि प्रहरीले डा. कर्णसहित ६ जनालाई पक्राउ गरी मुद्दा दायर भएको थियो। यसमध्ये तीन जना धरौटीमा रिहा भएका छन्।

मोरङ कटहरी– २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रूपैयाँ, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख रूपैयाँ र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई दस हजार रूपैयाँ धरौटी रकम लिएर रिहा गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए।

पक्राउ परेका ६ जना प्रतिवादीविरूद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन्।

सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो। अस्पताल नजिकै आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले शिशु बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।

शिशुको व्यवस्थापनका लागि भन्दै डा. कर्णले अविवाहित बाबुसँग पनि ३५ हजार रूपैयाँ लिएको पुष्टि भएको छ। डा. कर्ण कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट समेत हुन। डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट थिए । त्यस वेला अस्पतालमा शिशु वेपत्ता भएको भन्दै धेरै पटक हंगामा भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट