जनताको पैसामा कर्मचारी र जनप्रतिनिधिको लुट, दसैंभत्ता भन्दै बाग्मतीमा २ करोड स्वाहा

हेटौंडा– बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले दशैंमै झण्डै २ करोड रुपैयाँ राज्यकोष झ्वाम पारेका छन्।

प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुले दसैँभत्ताका नाममा १ करोड ९८ लाख रुपैयाँ बुझेको खुलेको छ।

बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको हो भने मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो ।

सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । मन्त्री र मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । मन्त्री, संसद र स्वकीयहरुको दसैँभत्ता वापत प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४९१ रुपैयाँ खर्च भएको छ ।

दसैँ भत्ता बापतको रकम ९६ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्ता बाँडिएको छ।

प्रदेशमा १२ जना मन्त्रीमध्ये ६ जनाले मात्र दसैँभत्ता भुझेका छन् भने अन्य ६ जना मन्त्रीले बुझेका छैनन् । ६ जना मन्त्रीको नियुक्तिको अवधि ६ महिना पुरा नभएकाले उनीहरुलाई अन्य सरह दसैँभत्ता वितरण नगरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दसैँ भत्तावापत ७० हजार ७३० रुपैयाँ तथा ५ जना मन्त्रीहरुले जनही ६० हजार ३२० रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुका राजनीतिक सल्लाहकार, स्वकीय सचिव, सुरक्षा गार्ड, सवारी चालक, कार्यलय सहयोगीलगायत २९ जनाले ३ लाख ७२ हजार रुपैयाँ दसैँभत्ता बुझेका छन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलार्ई ६१ हजार ४५० रुपैयाँ, उपसभामुख अप्सरा चापागाईंलाई ५८ हजार रुपैयाँ र प्रतिपक्षी दलका नेतालाई पनि ५८ हजार रुपैयाँ दसैँ भत्ता दिइएको छ । उनीहरुका स्वकीय सचिवहरुलाई कुल १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्ता वितरण गरिएको छ ।

सत्तारुढ दलका मुख्य सचेतकलाई ५६ हजार ८४० रुपैयाँ र विपक्षी दलका प्रमुख सचेतकलाई ५४ हजार ५२० रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको छ । ९३ जना प्रदेशसभा सदस्यले जनही ५२ हजार दुई सय रुपैयाँका दरले ४८ लाख ५४ हजार ६०० रुपैयाँ दसैँभत्ता बुझेका छन्।

उनीहरुका स्वकीय सचिवले ३४ हजार ७३० रुपैयाँका दरले ३२ लाख २९ हजार ८९० रुपैयाँ दसैंभत्ता लिएका छन् ।

प्रदेशसभा सचिवालयले सभामुख पाठकका स्वकीय सचिव २ जनालाई उपसचिवसरह ४० हजार ३८० रुपैयाँ, शाखा अधिकृत सरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवलाई शाखा अधिकृतसरह ३५ हजार ९९० र बाँकी सांसदहरुको स्वकीय सचिवलाई नायव सुब्बासरह ३४ हजार ७३० रुपैयाँ दसैँभत्ता खर्च वितरण गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट