रामबहादुर बम्जनले छोडे योग र ध्यान, टीभी हेरेर दिन विताउँदै

जलेश्वर– बाल यौन शोषणको अभियोगमा महोत्तरीको जलेश्वर कारागार चलान भएपछि भित्रै योग ध्यान सुरु गरेका कथित ‘तपस्वी’ रामबहादुर बम्जन (रामलाल बम्जन’ ले अहिले योगध्यान सवै छोडेका छन्।

ध्यान, योग र तपस्या केही नगर्ने खुलेपनि उनले कारागारमा ध्यान सुरु गरेका थिए। पुर्पक्षका लागि कारागार चलान भएको भोलीपल्ट बिहान उनले केहीबेर ध्यान गरेका थिए। यसअघि उनले ध्यान योग र तपस्या केही नगर्ने गरेको तथ्य खुलेको थियो। उनले फेरी ध्यान छोडेका छन्।

कारागारमा आएका दुई तीन दिन उनले साँझ बिहान योग ध्यान गरे पनि अहिले त्यो छाडेको जेलर रामचन्द्र साहले बताए। ‘उनी आजभोली योग ध्यान गरेर बसेको देखिँदैन। दिनभरी टीभी हेरेर बस्छन्। नाइकेहरुसँग गफ गरिरहेका हुन्छन्,’ साहले भने।

तीन तले कारागार भवनको तेस्रो तलामा बम्जन दिनभरी टेलिभिजन (टीभी) हेरेर बस्ने गरेका छन्। कारागारमा ४ सयभन्दा बढी पुस्तकहरु रहेको पुस्तकालय पनि छ। तर बम्जन पुस्तकालयतिर पनि जाँदैनन्।

बम्जन सुत्ने कोठामा अरु चार जना नाइके बस्ने गरेका छन्। बम्जन तिनै नाइकेसँग बसेर दिन बिताउँछन्। उनलाई भेट्न केही दिनअघि उनकी पत्नी, वकिल र मानवअधिकारकर्मी पनि पुगेका थिए। हिजोआज पनि दैनिक पाँच सात जना मानिस उनलाई भेट्न पुग्ने गरेका छन्। भेट्न आएकाहरुसँग उनी गेटमा गएर कुरा गर्छन्।

केही दिन राम्ररी नबोलेका बम्जन हिजोआज आफूलाई भेट्न आउनेसँग खुलेर बोल्ने गरेका छन्। जेलभित्र उनको गतिविधि सामान्य देखिएको जेलर साहले बताए। सुरुमा उनले आफूलाई सुविधायुक्त छुट्टै कोठामा एक्लै राख्न माग गरे पनि आफूहरुले त्यस्तो व्यवस्था नगरेको जेलर साहले बताए।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा गएको २६ पुसमा बम्जन जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन्।

बम्जनलाई सहयोगीको सुविधा
बम्जनले कारागारमा एक जना सहयोगी पाएका छन्। बम्जनको माग अनुसार उनलाई एकजना सहयोगी उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ।

लागूऔषध मुद्दामा कैद जीवन विताइरहेका नरवीर लामालाई उनको सहयोगीको रुपमा खटाईएको साहले वताए। उनले भने– ‘लामाले बिहान बेलुका बम्जनको लागि खाना पकाउने, लुगा धोइदिने काम गर्छन्।’

कारागारभित्रको आन्तरिक प्रशासन (नाइकेहरुको निर्णय)ले बम्जनलाई सहयोगी दिने निर्णय गरेको साहले बताए। बम्जनले कारागारमा लसुन, प्याज र बेसार हालेको खाना खाँदैनन्। सुरुमा बम्जनलाई पनि अन्य कैदीलाई बनाएको खाना दिँदा उनले आफूले लसुन, प्याज र बेसार हालेको खाना नखाने भन्दै साकहारी खानाको व्यवस्था गर्न माग गरेका थिए।

‘त्यसपछि हामीले कैदी जीवन विताइरहेका अन्य जोगीहरुको मेसमा उनलाई खाना खाने व्यवस्था मिलाएका थियौँ,’ जेलर साहले भने, ‘पछि बम्जनले आफूले एक्लै खाना खाने भनेपछि सहयोगीको व्यवस्था गरिएको हो। तिनै सहयोगीले बम्जनलाई बिहान बेलुका खाना बनाएर दिन्छन्। अरु अराए खटाएको काम गर्छन्।’

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट