सप्तकोशी नगरपालिकामा यसरी हुन्छ अख्तियारको दुरुपयोगः हस्तान्तरण नै नभएको चुहिने घरमा चोचोमोचो मिलाएर सर्यो कार्यालय (फोटो फिचर)

राजविराज– मासु पसल सञ्चालन गर्ने ब्यवसायीले नाफा कमाउने लोभमा कहिलेकाहीँ बदमासी गर्छन। बोकाको राजखानी झुण्ड्याएर बाख्राको मासु वेचेर पक्राउ परेका उदाहरण पनि प्रसस्तै छन्। यतिमात्रै होईन, ५/७ वर्षअघिसम्म पुर्वबाट मुग्लिन हुँदै काठमाडौं जाने राजमार्गमा खुलेका कतिपय लाईन होटलले कुखुराको मासु भन्दै काग र वकुल्लाको मासु खुवाएको चर्चा पनि खुवै हुन्थ्यो।

तर, यहाँ प्रसंग मासुको होईन। पर्दा अगाडि एउटा सामान देखाएर पर्दा पछाडि अर्कै सामानको धन्दा गर्ने प्रवृत्ति वढेको देखाउन उदाहरणका लागि मात्रै मासुको प्रसंग जोडिएको हो। यसको सवैभन्दा ताजा उदाहरण सप्तरीको सप्तकोशी नगरपालिका हो। मेयर कृष्णप्रसाद ढकाल आफैं यो धन्दामा संलग्न छन्। यसो भन्दा आश्चर्य मान्नु पर्दैन।

ढकाल मेयरमा निर्वाचित हुनुअघिका घोषित र दर्तावाल ब्यापारी हुन। उनले सुनसरीको इटहरी आसपासमा वसेर लामो समय काठको ब्यवसाय गरे। त्यसवेला उनले दायाँबायाँ गरेर निकै पैसा कमाएको उनलाई चिनेजानेकाहरु बताउँछन्। स्थानीय संचारकर्मीहरुका अनुसार पनि इटहरी/तरहरा क्षेत्रमा ढकालको नाम स्वच्छ/इमान्दार ब्यापारीका नाममा आउँदैन।

काठको ब्यवसाय धर्मराउन थालेपछि सप्तकोशीलाई केन्द्र बनाएर उनी जग्गा ब्यवसायमा जमे। यसै क्रममा उनले सप्तकोशी नगरपालिका–४, तुलसी चौकमा स्थानीय ठाकुर सिंह (भोला सिंहका खलक) सँग सस्तोमा करिव ७ विगाह सिमको (कहिलै पानी नसुक्ने) जग्गा किनेका थिए। त्यस वाहेक उनले श्रीमती आशा घिमिरे, भाई र आफन्तका नाममा पनि त्यसै वरीपरी जग्गा किनेर राखे।

जग्गा खरिद गर्ने, प्लटिङ गर्ने र बेच्ने गरिरहेकै वेला उनले राजनीतिमा अवसर देखे। काठ र जग्गामा कमाएको थोरै पैसा राजनीतिमा दाउ थापे। सस्तोमा किनेको सिमको सोही जग्गा मध्ये १० कठ्ठा उनले नगरपालिकालाई दान दिने घोषणा गरेर नेपाली कांग्रेसको राजनीतिमा सकृय भए।

भाडाको घरमा सञ्चालन भईरहेको नगरपालिकालाई कार्यालय बनाउन जग्गा उपलब्ध हुने भएपछि अस्विकार गर्ने सम्भावनै भएन। ‘सित्तैंमा पाउँदा पनि जग्गा नलिएको’ भन्ने आलोचनाका डरले त्यसवेलाका जनप्रतिनिधिले जग्गा ग्रहण गर्ने निर्णय गरे। सोही जग्गामा नगरपालिका कार्यालयका लागि भवन वन्ने भयो। भ्याटबाहेक ५ करोड ३९ लाख ३० हजार ६३ रुपैयाँ ६४ पैसाको लागतमा लिफ्ट बाहेक २ तले भवन बनाउन ठेक्का लाग्यो।

त्यसैबीचमा ३० वैशाख ०७९ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा भयो। उनकै सहयात्री कांग्रेसका नेता/कार्यकर्ताको भाषामा भन्दा ढकालले नेताको चाकरी गरेर मेयरको टिकट हात पारे। तर, टिकट लिन आफनै साथीसंगीलाई चिढ्याएपछि चुनाव जित्ने सम्भावना कम हुँदै गयो। त्यसपछि उनले सोही दान गरेको जग्गालाई मेयरको कुर्सीसम्म पुग्ने भ-याङ बनाए। ‘चुनाव नजित्दै नगरपालिकाका लागि करोडौंको लगानी गरेको मान्छेले मेयर बन्यो भने के गर्ला ?’ भन्दैै कांग्रेसका नेता/कार्यकर्ताले राजखानी (दानको जग्गा)को खुवै प्रचार गरे।

अन्ततः नेकपा एमालेप्रतिको मतदाताको चरम असन्तुष्टि र गुटवन्दीको फाईदा उठाएर ढकाल मेयरमा निर्वाचित पनि भए। तर, उनले मेयरमा निर्वाचित भएपछि भने अपेक्षा अनुसार जनताका काम गर्न सकेका छैनन्। बरु उनी त्यही कार्यालयलाई ‘राजखानी’को रुपमा देखाएर जग्गाको ब्यापार गर्न थालेका छन्।

त्यसका लागि उनले निर्माण सम्पन्न नभएको, गुणस्तरहिन र हस्तान्तरण नै नभएको भवनमा एक महिना अघि नै नगरपालिकाको कार्यालय सारिसके। भवन गुणस्तरहिन भएको विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी समेत परेको छ। अख्तियारमा परेको उजुरी किनारा नलाग्दै कार्यालय सारिएको विषय कार्यपालिकाका कतिपय सदस्यलाई नै मन परेको छैन।

‘भवन गुणस्तरहिन छ भन्ने कुरा दुनियाँलाई थाहा छ। गत वर्षको वर्षामा छत चुहिएको र भित्ता रसाएको फोटो सामाजिक सञ्जालमै सार्वजनिक भएका थिए। त्यसमाथि ६ महिनादेखि अख्तियारमा उजुरी छ’ एक कार्यपालिका सदस्य भन्छन्–‘मेयरकै हुटहुटीले हस्तान्तरण नै नभएको भवनमा हतार–हतार कार्यालय सारियो।’

गुणस्तरहिन भएको विषय विवादमा आयो भने भवन हस्तान्तरण नहुने र नगरपालिकाको कार्यालय सार्ने योजना असफल भए आफनो जग्गाले भाउ नपाउने त्रासमा रहेका ढकालले ठेकेदारसँग मिलेर हतार–हतार कार्यालय सारेको उनीहरुको दावी छ।

पूर्वमेयर उत्तमकुमार गौतमले पनि टेन्डर र डिजाईन अनुसार निर्माण सम्पन्न नभएको, गुणस्तरहिन घर कानुनी रुपमा हस्तान्तरण नै नभई जिम्मा लिनु आश्चर्यको विषय भएको वताएका छन्। ‘जनप्रतिनिधिको समेत चित्त नवुझाई कार्यालय सार्नुले मेयरको ठेकेदारसँग मिलिभगत देखियो। यसमा नागरिक स्तरबाट कुरा उठ्नु पर्छ’ उनी भन्छन्–‘पहिलादेखि नै चुहिएको घर हस्तान्तरण नहुँदै किन जिम्मा लिईयो, त्यस विषयमा मेयरसहितका जनप्रतिनिधिले जनतालाई जवाफ दिनुपर्छ।’

निर्माण कम्पनी न्यू ड्राईगन निर्माण सेवाका इन्जिनियर दिपेन्द्रकुमार ठाकुरले आफुहरु भवन हस्तान्तरणको प्रक्रियामा रहेको बताए। अहिलेसम्म भवन निर्माण बापतको १० लाख रुपैयाँ भुक्तानी समेत नभएको उनको भनाई छ। कम्पनीको ४० लाख धरौटी समेत बाँकी नै छ। कानुनी रुपमा भवन हन्तान्तरणको प्रकृया पुरा भएको छैन। उनले भवनमा कार्यालय भने सञ्चालनमा रहेको वताए।

यता, ढकालले नगरपालिकालाई दिने भनेको जग्गा समेत हालसम्म पुरा नदिएको खुलेको छ। स्रोतका अनुसार १० कठ्ठा मध्ये ३ कठ्ठा जग्गा उनले अहिले पनि नगरपालिकाको नाममा पास गर्दिएका छैनन्। उनको जग्गा ब्यापार भने फस्टाएको छ। अहिले उनी मालपोत कार्यालयमा ब्यस्त हुन थालेका छन्।

ढकालका नाममा अहिले पनि भरुवाखाल ७क को कि. नं. ९६१, ९८९, ९९०, श्रीमती आशा घिमेरेका नाममा ७क को कि.नं. ८२३, ७०६, ९६९, ९८७, ७ख को कि.नं. ५६८, ६४८, ६६२ लगायतका छन्। यस वाहेक पनि उनले भाई र आफन्तका नाममा पनि जग्गा खरिदविक्रि गर्ने गरेको स्रोतको दावी छ।

यस विषयमा मेयर ढकालसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्। फेसवुक म्यासेन्जरमा राखिएको जिज्ञासाको जवाफ पनि उनले दिएका छैनन्। नगरपालिकाका सूचना अधिकारी शैलेश कुमार गुप्ताले भने फेसवुकमा सूचना जारी गरेरै कार्यालय सारिएको वताए। भवन गुणस्तरहिन भएको विषयमा अख्तियारमा मुद्दा परेको र छत चुहिने, भित्ता रसाउने समस्या सत्य भएको स्विकारेका उनले यस्तो अवस्थामा किन भवन सारियो भन्ने विषयमा भने आफु पनि जानकार नभएको वताए।

‘अख्तियारमा मुद्दा परेको विषय सत्य हो। भवन चुहिएको र भित्ता रसाएको पनि हो। ठेकेदारले मर्मत गर्यौ भनेको छ। गुणस्तरिय भयो की भएन भन्ने पुष्टि गर्नका लागि त फेरी पानी पर्नुपर्छ।’– उनले भने।

छत चुहिएको र भित्ता रसाएको पुष्टि गर्ने केही तस्विरहरु।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट