झाडापखला लागेका बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

दमक– चिकित्सकको लापर्वाहीले बालकको मृत्यु भएको भन्दै विहिवार झापाको विगौरीगञ्ज अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्।

गौरीगञ्ज गाउँपालिका–६, खजुरगाछी बस्ने रामदेव महतोका छोरा ११ वर्षीय महेशकुमारको झाडापखलाका कारण निधन भएपछि अस्पताल तोडफोड गरिएको हो। बालकलाई बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको थियो।

तर, थप उपचारका लागि भन्दै अस्पतालले रेफर गर्यो। उपचारका लागि दमक ल्याउँदै गर्दा बाटोमै महेशको निधन भएपछि आफन्तले उनको शव अस्पतालमै लगेर राखेका थिए। आफुले उपचार गर्न नसक्ने भएपनि समयमै सुविधा सम्पन्न अस्पताल नपठाउँदा बालकको मृत्यु भएको आफन्त राजकुमार महतोले आरोप लगाए।

आक्रोशित आफन्त तथा स्थानीयले दिनभर अस्पतालमा विरोध प्रदर्शन गर्नुका ढुंगामुडा गरेका थिए। यसैक्रममा अस्पतालमा तोडफोड समेत भएको थियो। ढुंगामुढा गर्दा झ्यालको सिसा, ढोका, टेबल कुर्षी एवम अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

साँझपख अस्पताल व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति भएको छ। गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको रोहवरमा गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएको हो।

वार्तामा डाक्टर र कर्मचारीको लापरवाहीका कारण बालकको मृत्यु भएको ठहर गर्दै अस्पतालका डा.अरविनकुमार राजवंशी, स्टाफ नर्स मनिसा सिंह गनगाई र एचए भावना कार्कीलाई तत्काल पदबाट निलम्बनसहित कानुनी कार्वाही गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको जनाईएको छ।

अस्पतालमा तोडफोड भएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ। असामान्य अबस्थाका कारण अस्पताल बन्द गर्नुपरेको व्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट