मध्यरातमा पदमुक्त हुँदै मधेशका मुख्यमन्त्री, भोली नयाँ सरकार गठनका लागि आह्वान हुने

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज मध्यरातीदेखि पदमुक्त हुने भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत नलिएका कारण उनी पदमुक्त हुने भएका हुन।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए। त्यसैले प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी सहित दिउँसो ३ बजेका लागि बैठक बोलाएको थियो।

तर, अन्तिम समयमा आफू बिरामी परेको भन्दै यादवले विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गरे। उनको पत्र पाएपछि सभामुख रामचन्द्र मण्डल कानूनी परामर्शमा भए भने मुख्यमन्त्री विश्वासको मत लिन नै गएनन्।

मुख्यमन्त्री यादवले अब जेष्ठ २८ मा विश्वासको मत लिने बताए पनि त्यसअघि नै उनी पदमुक्त हुने भएका छन्। वैशाख २२ मा जसपा नेपाल विभाजन भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज अन्तिम दिन थियो। तर, उनले विश्वासको मत लिन सकेनन्।

प्रदेशका प्रतिपक्षी तथा सत्ता गठबन्धनमा रहेका दलहरू पनि मुख्यमन्त्री स्वतः पदमुक्त भइसकेकाले नयाँ सरकारको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराएका छन्। प्रदेश प्रमुख भण्डारीले आज राति १२ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिएको औपचारिक जानकारी प्राप्त नभए विहिवार नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने छन्।

विहिवार संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान हुने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट