ओलीलाई रवि लामिछानेको प्रश्नः तपाईका नेतालाई भोट हालिरहने भोटर कस्ता ?
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘अझै पनि तपाईकै दललाई भोट दिनु पर्ने ?’ भन्दै प्रश्न गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसरी प्रश्न गरेका हुन। उनले जनताको चेतनामाथि प्रश्न नगर्न ओलीलाई चेतावनी समेत दिएका छन्।
सोमबार ओलीले ‘नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ?’ भन्दै प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफ दिने क्रममा लामिछानेले ओलीलाई प्रतिप्रश्न गरेका हुन।
‘आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको सूचकांक कमजोर बनाउँदा पनि तपाईकै दललाई भोट हालिरहने ?’ भन्दै लामिछानेले प्रश्न गरे।
‘हामीलाई माया गर्ने, सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ?’ उनले भने–‘तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु।’
‘आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौं न भनेर हामीलाई ह्वारह्वार्ती भोट दिएको पनि होइन । उपनिर्वाचनबाट २१ सिट पु¥याएका त हौं नि । जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत पनि छैन ।’– उनले भने।