रवि लामिछानेका रुम पार्टनरलाई पदिय जिम्मेवारीबाट विदा दिने रास्वपाको निर्णय

काठमाडौं– अमेरिका बस्दा रवि लामिछानेको रुम पार्टनर रहेका मोहनबाहादुर थापाले रास्वपाको पदिय जिम्मेवारीबाट विदा पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई पदिय जिम्मेवारीबाट विदा दिने निर्णय गरेको हो।
केन्द्रीय सदस्य थापामाथि पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।
श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उनले काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएका थिए।
उनको यो घोषणालाई रास्वपाको बैठकले स्विकार गरेको एक नेताले वताए। थापा सभापति रविका विश्वास पात्र हुन। उनी अमेरिका बस्दा लामिछानेका रुम पार्टन थिए ।
निर्णयको ७ नम्बर बुँदामा भनिएको छ–‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहन बहादुर थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ।’
यसअघि आर्थिक अपचलनको गम्भीर आरोप लागेपछि रास्वपाले थापामाथि अनुसन्धान अगाडि बढाएको थियो । तर आरोप पुष्टि हुने कुनै प्रमाणा फेला नपरेको भन्दै पार्टी अनुशासन आयोगले मुद्दा मुल्तबीमा राखेको थियो।