उदघाटन र शिलान्यासमा प्रचण्डले ओलीलाई पनि पछि पारे, सिन्धुलीमा अधुरै अस्पताल उदघाटन
![उदघाटन र शिलान्यासमा प्रचण्डले ओलीलाई पनि पछि पारे, सिन्धुलीमा अधुरै अस्पताल उदघाटन](https://www.sheershakhabar.com/wp-content/uploads/2024/02/prachanda.jpg)
सिन्धुली– उद्घाटन र शिलान्यास प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत पछि पार्ने लक्षण देखाएका छन्।
सानातिना काममा नअल्झिने घोषणा गरेका दाहालले शनिवार सिन्धुलीको सिर्थौलीमा निर्माणाधिन दुधौली नगर अस्पतालको अधुरो भवन उदघाटन गरेर यसको संकेत दिएका हुन।
दुधौली नगरपालिकाले सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको अधुरो भवन काम पुरा नहुँदै उदघाटन गरेका हुन्।
दुधौली नगरपालिकाका उपमेयर चन्द्रकिशोर थारु अस्पताल भवन अधुरो रहेको देखेपछि प्रधानमन्त्रीले बाँकी काम पूरा गर्न रकम उपलब्ध गराइदिने आशा व्यक्त गरेका छन्।
‘अस्पताल भवनमा स्टिमेटअनुसार लिफ्ट, रेलिङ, छाना र अस्पतालभित्र आवश्यक पर्ने फर्निचर तथा उपकरणहरु केही पनि छैन। भवन बनेको छ, तर भित्री कामहरु अधुरा छन्’ उनले भने–‘हामीले त्यही अधुरो कामहरु पूरा गर्न उहाँले रकम उपलब्ध गराइ दिनुहुनेछ भन्ने उद्देश्यले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएका हौं।
करिब १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक १५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अधुरो धरहरा उदघाटन गरेका थिए। बाँकी र अधुरो कामलाई त्रिपालले छोपेर धरहरा उदघाटन गरेको विषयमा ओलीको अहिले पनि आलोचना हुने गरेको छ।