पुस्तक लोकार्पणमा ओलीका मिसाईलका कुराः एउटाले पुग्ने ठाउँमा कहिलेकाही ५/६ वटा पनि हानें

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिलेकाहीँ बोलिका कारण विवादमा पर्छन। कहिले धेरै बोलेर र कहिलेकाँकी पुरा नहुने कुरा बोलेर उनी विवादमा पर्ने गरेका छन्। रेल, पानी जहाज तथा पाईपबाट घरघरमा ग्याँस पु¥याउने कुराले उनी धेरै विवादमा परे।

संसदमा धेरै समय बोलेका कारण पनि उनी विवादमा परे। तर, उनले यो कुरालाई स्विकार गरेका छन्। ओलीले संसदमा बोल्दा वा आफ्नो भाषण गर्दाका समय विचार उत्तेजक भए पनि आफूले लोकतन्त्र र जनताको पक्षमा बोल्ने क्रममा अनियन्त्रित हुने गरेको स्वीकारे। उनले जनताका पक्षमा बोल्दा आफू अनियन्त्रित हुनु कमजोरी भए पनि विचारमा त्रुटि नभएको बताए।

आफ्ना विभिन्न सन्दर्भ संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को मंगलबार राजधानीमा भएको लोकर्पण कार्यक्रममा उनले लोकतन्त्रलाई नेताहरुले ठगी खाने भाँडो बनाउन नहुने तर्क गर्दै आफूले अविचलित रुपमा देश, जनता र सुशासनको पक्षमा अत्यन्तै निष्ठापूर्वक एकधारको राजनीति गर्दै आएको दाबी गरे।

राजनीति लोकतन्त्रको लागि चाहिने र लोकतन्त्र जनताको लागि भएको उल्लेख गर्दै उनले नेताले त्यसलाई ठगी खाने भाँडो बनाउन खोजे लोकतन्त्र नटिक्ने बताए। उनले भने ‘राजनीति केलाई चाहिन्छ भन्दा लोकतन्त्रलाई चाहिने हो। लोकतन्त्र जनता र समाजलाई देशलाई चाहिन्छ। जसले समाज, देश र जनताको लागि काम गर्दैन दुई चार जना नेताको ठगीखाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन।’

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उल्लेख गरेका उनले कहिलेकाँही लोकतन्त्रले नै धक्का खाने बताए। तर, आफूले निरन्तर संसदमा बोल्दा लोकतन्त्र र जनताको पक्षमा बोलेकोे उनको भनाइ छ।

पूर्ववक्ताले उनीप्रति ‘अनकन्ट्रोल मिसाइल’ जस्तै भाषण गर्ने व्यक्ति जस्तो लाग्छ भनेर गरेको टिप्पणीप्रति ओलीले भने, ‘दाहालजीले मलाई अनकन्ट्रोल मिसाइल भनेजस्तै मैले ड्याङड्याङ मिसाइल हान्दिने हो, त्यस पाराले बोलेँ। तर, यसको अर्थ सावधानीको कमी हो मेरो विचारमा त्रुटि होइन। मैले ठिक ठाउँमा ताकेर मिसाइल हानेको छु। तर, एउटा हान्दा पुग्ने ठाउँमा पाँच सातवटा हानेँ।’

आफ्ना लागि देश र जनताभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै उनले राजनीतिभन्दा माथि देशको हित पार्नेगरी नीति बनाउनुपर्नेमा जोड दिए। उनले संसद र बाहिर जहाँ बोले पनि आफूलाई माथि पार्न नभएर देश र जनतालाई माथि पार्न बोलेको चर्चा गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट