सहकारी ठगी प्रकरणमा पोखराका पत्रकार अर्जुन गिरी कारागार चलान

पोखरा– सहकारी ठगी प्रकरणमा पोखराका पत्रकार अर्जुन गिरी कारागार चलान भएका छन्। पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको हो।

गिरीलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाएको हो। गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप छ। मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्य रहेका गिरी ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत हुन।

गिरी विरुद्ध गत मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए। बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएका गिरीलाई बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा हालसम्म गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्। सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन्।

धेरै जना भने धरौटीमा छुटिरहेका छन्। पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेका थिए भने फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भई ३ लाख धरौटीमा छुटे। सुवेदीलाई भने सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले लगत्तै पक्राउ गरेको छ।

आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारी, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारी जनही ७ लाख धरौटीमा रिहा भएका छन् भने पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा छुटेका छन्।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ। ति मध्ये २२ जना अझै फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट