अनुदानको ट्याक्टर दिलाउने भन्दै करोडौं ठगेर कृषि ज्ञान केन्द्रका कार्यालय सहयोगीले फरार

लहान– सिरहाको कृषि ज्ञान केन्द्रका कार्यालय सहयोगी अजयकुमार कर्णले आफुलाई नायव सुब्बा बताउँदै विभिन्न किसानसँग झण्डै एक करोड ठगी गरेको खुलासा भएको छ। अनुदानमा ट्याक्टर मिलाइदिने भन्दै किसानसँग रकम असुल गरी कर्ण अहिले फरार भएका छन्।

पैसा लिएको लामो समय वितिसक्दा पनि ट्याक्टर नपाएपछि किसानले तागेदा गर्न थालेपछि उनी फरार भएका हुन। उनले ‘ट्याक्टर मिलाई दिन्छु’ भन्दै हरेक किसानसँग ५ देखि ९ लाख रुपैयाँसम्म असुलेको पाईएको छ। किसानले घेर्न थालेपछि उनले ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी दिएका थिए।

पीडितले दिएको जानकारी अनुसार कर्णले पैसा फिर्ताका लागि १९ र २० कात्तिकमा नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर, उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो। पटक–पटक बैंक जाँदा पनि खातामा रकम नभएको पीडितहरुले बताएका छन्।

अहिले पीडित किसानहरु पैसा वा अनुदानको ट्याक्टरका लागि कृषि ज्ञान केन्द्र धाउन थालेका छन् भने रकम फिर्ताका लागि चेकसहित प्रहरी÷प्रशासन धाउन थालेका छन्। ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति र कृषि ज्ञान केन्द्रको कर्मचारीसमेत भएकाले विश्वासमा परेर अग्रिम पैसा दिएको गुनासो पीडितहरुले बताएका छन्।

औरही गाउँपालिका–२, तुलसीपुरकी पुनिता महतो र सुखीपुर नगरपालिका–५ का राजकिशोर यादवका अनुसार कर्णले औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयको ९६ लाख रुपैयाँ ठगेको खुलेको छ। कतिपयले नगद र कतिपयले केही बैंकमार्फत उनलाई पैसा वुझाएका छन्।

सिराहा नगरपालिका–१० स्थायी घर भएका कर्णबाट पीडितको संख्या अझै वढ्न सक्ने अनुमान छ। अहिले दैनिक जसो पीडितहरु उनको घर पुग्न थालेका छन्।

कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्रकुमार महासेठले कर्ण करारमा नियुक्त गरिएको कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको बताउँदै किसानसँग पैसा लिएको बारेमा आफुलाई जानकारी नभएको बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेले कर्ण फरार भएकाले खोजतलास भईरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट