एउटा औठीले खोल्यो झापामा ३ साताअघि भएको हत्याको रहस्य, यस्तो छ नालिवेली

दमक– तीन साता अघि आफनै घरमा मृत फेला परेकी झापाको विर्तामोड नगरपालिका–४, शिवनगरकी ६७ वर्षीया वृद्धा विष्णुमायाँ विष्टको हत्या स्थानीय गंगाप्रसाद राजवंशी एक्लैले गरेको खुलेको छ। प्रहरीले घट्नामा संलग्न भएको आरोपमा अन्य ४ जनालाई पनि पक्राउ गरेपनि उनीहरुको संलग्नता लुटपाटको सामान ब्यवस्थापन तथा खरिद विक्रीमा मात्रै देखिएको छ।

प्रहरीका अनुसार गत २६ वैशाखको विहान अबेरसम्म पनि विष्णुकुमारी नउठेपछि छिमेकी श्रीप्रसाद सिटौला घरमा हेर्न गएका थिए। उनी पुग्दा सुत्ने कोठामा रगताम्य अवस्थामा विष्णुमायाँ मृत फेला परेकी थिईन। त्यसपछि श्रीप्रसादले नै काठमाडौँमा रहेका मृतकका छोरा प्रकाश र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराए।

घट्नाको लामो अनुशन्धान गरेको प्रहरीका अनुसार २५ वैशाखको साँझ ६ बजेतिर विर्तामोड ४ का महेश राजवंशी (२३) गंगाप्रसाद राजवंशी (२३) को घरमा पुग्छन्। गफैगफमा उनीहरुको चोरी गर्ने योजना बन्छ। त्यसपछि राती ९ बजे उनीहरु सिटी सफारीमा टायर खोल्न प्रयोग हुने फलामे रड र रेञ्च बोकेर चोरी गर्न निस्किन्छन्।

सवैभन्दा पहिला उनीहरु चोरी गर्न स्थानीय सुमन राजवंशीको घरमा गएका थिए। तर, त्यहाँ चोरी गर्ने उनीहरुको योजना असफल भयो। त्यसपछि उनीहरू विष्णुमायाँको घरतर्फ लागेको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए।

विष्णुमायाँको घरमा पुगेपछि गंगाप्रसाद भित्र पसे भने महेशले घरको कम्पाउन्डबाहिर बसेर रेखदेख गरे। गंगाले घरको पश्चिमपट्टिको झ्याल खोल्न खोज्दा आवाज निस्कियो। त्यसपछि विष्णुमायाँले ‘चोर आएजस्तो छ’ भन्दै फोनमा बोलेको आवाज गंगाको कानमा पर्यो।

त्यसपछि उनी हामफाल्दै कम्पाउन्डबाट बाहिर भागे। महेश पनि उनकै पछि लागे। विष्णुकुमारीले ‘चोर आयो’ भन्दै हल्ला गरेपछि छिमेकीहरु उनको घरमा भेला भए। त्यसपछि गंगा र महेश नजिकै रहेको डम्बरकुमारी प्रसाईंको घरमा पुगे। झ्यालबाट हात छिराउँदा झोला फेला पर्यो। झोलाको अन्य सामान फालेर त्यहाँ भएको ७ सय रुपैयाँ निकाले। झोलामा आफूसँग भएको रड र रेञ्च हाले र निकैवेर मकैबारीमा लुकेर बसे।

करिव १२ बजेपछि विष्णुमायाँको घर चकमन्न भयो, छिमेकीहरु सवै गए। गंगाप्रसाद फेरि पहिलेकै स्थानबाट पर्खाल नाघेर भित्र गए। महेश कम्पाउन्डबाहिर एक घण्टाजति वसे। तर, गंगा ननिस्किएपछि घरतर्फ लागे। करिव सवा १२ बजेतिर विष्णुमायाँ शौचालय जान ढोका खोलेर निस्किईन। त्यही वेला गंगाप्रसाद ढोकामा रहेको रड लिएर घरभित्र पसे र एक घण्टा खाटमुनी लुकेर वसे।

सुतेपछि चोरी गर्ने योजना बनाएका गंगाको योजना असफल भयो। विष्णुमायाँ फेरी फोनमा कुरा गर्न थालिन। त्यसपछि गंगाप्रसाद घरबाट बाहिर निस्कन खोजे। तर, विष्णुमायाँले देखेर ‘चोर आयो, चोर आयो’ भन्दै चिच्याउन थालिन्। ‘अव पक्राउ परिने भयो’ भन्ने सोचेर गंगाप्रसादले हातमा भएको रडले विष्णुमायाँको टाउकोमा हाने। उनी भुईमा ढलिन।

त्यसपछि रडले दराज फोडेर सुनका गहना र मोबाइल झोलामा राखे। त्यसपछि पौने ३ बजेतिर घर गए। २७ वैशाखमा विष्णुमायाँ मृत फेला परेपछि प्रहरीले पहिलै पटक गंगाप्रसादलाई सोधपुछका लागि प्रहरी चौकी विर्ता बजारमा लग्यो। तर, उनले घटना अस्वीकार गरेर छुटे।

त्यसपछि घर गएका उनले चोरी गरेको सामानबाट औठी मात्रै निकालेर अरु सामान घर छेउमा रहेको नालामा रहेको स्ल्याबमुनि लुकाए। विष्णुमायाँको घरबाट सामान हालेर लगेको बोरा श्रीमती वर्षालाई खोलामा फाल्न लगाए। तर, अपराध किन लुक्थ्यो। १६ जेठमा चोरीको सुनको औँठी गंगाप्रसादले ज्याक भन्ने भगीरथ माझीको सहयोगमा झापाको अर्जुनधारा ६ स्थित हनुमान सुनचाँदी पसलमा सञ्चालक धनबहादुर कामीलाई बेचे।

यही जानकारी पाएपछि प्रहरीले घट्नाका अन्य पोया फुकाउँदै गयो। अन्तमा हत्या र लुटपाट गर्ने, कम्पाउण्ड वाहिर रुँघेर वस्ने, वोरा फाल्ने, सामान किन्ने सवै पक्राउ परे। प्रहरीले विहिबार गंगाप्रसादसहित गंगाकी श्रीमती २० वर्षकी वर्षा, महेश, चोरेको सामान बेच्न सहयोग गर्ने ३३ वर्षका ज्याक भन्ने भगीरथ माझी र चोरीका गहना किन्ने अर्जुनधारा नगरपालिका ६ का ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको छ।

उनीहरूविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको डीएसपी चन्दले बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट