उनकै जीवनमा मेल खायो सन्दीप लामिछानेले गाएको गीतः उदास थियो मेरो यो मन, अझै भार भयो…

काठमाडौं– एउटा कुरा निश्चित भइसकेको छ – ‘केहीगरी उपल्लो अदालतले फरक निर्णय गरे मात्र’ अन्यथा क्रिकेटर सन्दीप लामिछानेको भरभराउँदो क्रिकेट जीवन लगभग समाप्त भएको छ।

काठमाण्डू जिल्ला अदालतले लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरी कैद सजाय तोकेसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी उनलाई निलम्बन गरिसकेको छ।

यसो हुनु भनेको नेपाली खेलकुदको एउटा ‘सुपर स्टार’को ‘अवसान’ सरह हो। सन्दीप लामिछानेको क्रिकेट करिअरको सुरुआत र उनले छोटो समय भित्रै पाएको ‘अपार सफलता’ भनेको कुनै चलचित्रको नाटकीय कथाजस्तो छ।

नेपालको ७० वर्ष भन्दा लामो समयको खेलकुदको व्यावसायिक इतिहासमा थुप्रै त्यस्ता खेलाडीहरू जन्मिए जसले ठूल्ठूला अन्तर्राष्ट्रिय पदक पनि प्राप्त गरे। तर सन्दीपले जस्तो ‘ग्लोबल स्टारडम’ हालसम्म सायदै कसैले पाउन सकेको छ।

स्टारडम मात्र होइन सन्दीपले जस्तो व्यावसायिक कमाइ अरू कुनै खेलाडीले अहिलेसम्म गर्न नसकेका बताइन्छ। आफ्नो क्रिकेट जीवन सहज रूपमा अगाडि बढिरहेको भए उनले अझ कति लामो समय धमाका मच्चाउन सक्थे भन्ने कुरा अब कल्पना मात्र गर्न सकिन्छ।

किशोरावस्थामै लोभलाग्दो अन्तर्राष्ट्रिय ख्याति कमाएका लामिछाने कसरी यस अवस्थामा पुगे?

सुरुआत
बुबा चन्द्रनारायण भारतीय रेल्वेमा जागिर खाने क्रममा त्यहीँ चार कक्षासम्म पढेर फर्कँदा सन्दीपमा क्रिकेटको भूत मज्जाले जागिसकेको थियो। पूर्वी नवलपरासीको रजहरमा दिदीको घरमा बसेर पढ्थे उनी। तर क्रिकेटको सोख पूरा गर्न उनी चितवन क्रिकेट एकेडेमीको समेत विद्यार्थी बने।

सन्दीपसँग ‘लेग स्पिन’ को गजबको सीप थियो र त्यसलाई तिखार्ने धैर्यता पनि। र त घरबाट १८ किमि टाढा रहेको एकेडेमीमा हिँडेर पुग्न उनलाई कहिल्यै थकाइ लागेन। चितवन क्रिकेट एकेडेमीका प्रशिक्षक तथा भूतपूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान राजु खड्का सन्दीपको प्रतिभा चिन्न समय लागेन।

राजुले उनलाई १९ वर्ष मुनिको राष्ट्रिय टोलीमा समावेश गर्न काठमाण्डू लगे। तर राष्ट्रिय टोलीमा राख्ने राजुको प्रयास पहिलो पटकमा असफल भयो। यो सन् २०१५ को कुरा हो।

संयोग त्यसैबेला नेपाल क्रिकेट टोलीका क्यानडेली मूलका श्रीलङ्काली प्रशिक्षक पुबुदु दशानायके राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मीको बिहेमा सहभागी हुन चितवन पुगेका थिए। त्यहाँ उनलाई ‘लेग स्पिनर सन्दीप’को प्रतिभा देखे र उनलाई सिधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाए।

सन्दीप लामिछानेको क्रिकेट करिअरको पहिलो खुड्किलो त्यही थियो।

छल्कियो प्रतिभा
सन्दीप लामिछानेको ‘लेग स्पिन’ मा बेग्लै जादु थियो। उनी आफ्नो कौशल त्यस्तो ठाउँमा देखाउन पाइरहेका थिए जहाँ त्यसको मुल्याङ्कन त हुन्थ्यो नै, त्यो मूल्याङ्कनको ठूलो अर्थ समेत हुन्थ्यो। खेल्दै जाँदा उनलाई सफलता र भाग्यले एकसाथ साथ दिइरह्यो।

सन्दीप अवसरको पर्खाइमा थिए। जब मौका पाए उनले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर खेर फालेनन्। सन् २०१६ ज्यानुअरीमा बाङ्लादेशमा भएको यू–१९ विश्वकप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

उक्त प्रतियोगितामा नेपालको यात्रा क्वाटर फाइनलमा पुगेर रोकियो। तर १५ वर्षीय नवलपरासीका ठिटोले भने त्यसै प्रतियोगिताबाट आफूलाई प्रमाणित गरेर देखाइसकेका थिए। सो प्रतियोगितामा उनले आयरल्यान्डविरुद्ध ‘ह्याट्रिक’ सहित पाँच विकेट लिए भने पूरा छ खेल खेल्ने क्रममा १४ विकेट लिएर नेपालको उच्च विकेटकर्ता बनेका थिए। यो प्रदर्शन सन्दीपलाई राष्ट्रिय टोलीको ढोका खोल्न प्रशस्त बन्यो।

त्यसको तीन महिनापछि त कीर्तिपुर मैदानमा भएको आइसीसी विश्वकप लीग च्याम्पियनशिपमा उनले राष्ट्रिय टोलीको जर्सी लगाइ सकेका थिए। नामिबियाविरुद्ध अप्रिल १६ मा उनले ‘डेब्यू’ गरे। जहाँ उनले पूरै १० ओभर बलिङ गरेर एक विकेट लिएका थिए।

त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन। राष्ट्रिय टोलीका ‘विकेट टेकर’ बलरको स्थायी स्थान बनाएका उनी ‘स्यान्डी’ उपनामले चर्चित भए।

अन्तर्राष्ट्रिय आँखा
राष्ट्रिय टोलीमा पर्नु अगाडि हङकङको एउटा यात्रा सन्दीपको क्रिकेट करिअरको ‘टर्निङ प्वाइन्ट’ बनेको थियो। सन् २०१५ मा उनी विश्वको एउटा पुरानो मेरिलवोर्न क्रिकेट क्लब (एमसीसी)विरुद्ध खेल्ने नेपाली टोलीमा मौका पाएका थिए।

त्यो बेला उनले एमसीसीबाट खेलिरहेका हङकङका विकेट किपर ब्याटर स्कट म्याकेनीलाई दुई पटक आउट गरिदिए। त्यसबाट प्रभावित म्याकेनीले सन्दीपलाई अर्को वर्ष २०१६ मा हङकङमा भएको टी–२० ब्लिट्जमा काउलोन क्यान्टोन्समा खेल्ने मौका दिए।

त्यहाँ प्रशिक्षकको भूमिकामा रहेका अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको आँखा सन्दीपको प्रतिभामाथि प¥यो। क्लार्कले उनलाई सिड्नीमा हुने अस्ट्रेलियामा खेल्न निम्तो दियो। त्यो सन्दीपको लागि अन्तर्राष्ट्रिय क्रिकेटतर्फ डो¥याउने अवसर बन्यो।

आइपीएलले खोलेको ढोका
भारतीय फ्रेञ्चाइज क्रिकेट लीग (आइपीएल) मा सन्दीपलाई लिने चर्चाले नेपाली क्रिकेटमा बेग्लै तरङ्ग ल्याइदिएको थियो। त्यो चर्चालाई तत्कालीन दिल्ली क्यापिटल्सले पूरा गरिदियो। ३२ लाख रूपैयाँ नेपालीमा दिल्ली क्यापिटल्सले सन्दीपलाई किनेपछि उनी नेपालबाट आइपीएल खेल्ने पहिलो खेलाडी बने।

त्यहाँ ११ खेलमा बेन्चमा बसेपछि उनले तीन खेल खेल्ने मौका पाए, जहाँ ५ विकेट लिएपछि उनी ग्लोबल क्रिकेटमा निर्विकल्प लेग स्पिनरका रूपमा उदाए। त्यसपछि त ग्लोबल फ्रेञ्चाइज क्रिकेटमा सन्दीपको प्रदर्शनले तहल्का नै मच्चायो।

उनले ग्लोबल क्रिकेटका सबै खाले ठूला फ्रेञ्चाइज क्रिकेटमा विश्वका ठूला स्टारसँग कुम जोडेर खेले। ठुल्ठूला स्टारलाई आफ्नो स्पिनको धरापमा फसाए। एउटा प्रतियोगितामा करोड रूपैयाँसम्म कमाए।

क्यारिबिअन प्रिमिअर लिग सीपीएल, होवर्ट हुरिकन्स, केरला नाइट्स, लाहोर कलन्डर्स, मोन्ट्रियल टाइगर्स, सर्री जगर्स, कोची तस्कर्स केरला, नान्गरहर लियोपार्डस्, सिलेट सिक्सर्स, बारबाडोस ट्रिडेन्टस्, जमैका तलावास, मेलवर्न स्टार्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स, टोरोन्टो नेसनल्स उनले खेलेका फ्रेञ्चाइज प्रतियोगिताहरू हुन्।

राष्ट्रिय टोली
राष्ट्रिय टोलीका त सन्दीप विकेट टेकर बलर हुने नै भए। २०१६ देखि हालसम्म उनले राष्ट्रिय टोलीबाट एक दिवसीयमा ५० इनिङ्स खेलेर ११२ विकेट लिइसकेका छन्। त्यस्तै टी २० मा ५२ इनिङ्स खेलेर ९८ विकेट लिएका छन्। ब्याटिङमा उनले एक दिवसीयमा ३७६ र टी २० मा ६४ रन बनाएका छन्।

कीर्तिमान
अब उनको नाममा बनेका कीर्तिमानका कुरा गरौँ। कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारबाही गरेपछि क्यानले एकाएक सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त ग¥यो।

त्यति बेला उनको उमेर २१ वर्ष २२६ दिन थियो। यसको अर्थ उनी राष्ट्रिय टोलीको नेतृत्व गर्ने विश्वका कम उमेरका आठौँ कप्तान बन्न पुगेका थिए। विश्व क्रिकेटमा सबैभन्दा कम खेलेर १०० विकेट लिने कीर्तिमान उनको सबैभन्दा अनुपम उपलब्धिमा गनिन्छ।

उनले ४२ खेल खेलेर १०० विकेटको कोशे ढुङ्गा पूरा गरेका हुन्। ४४ खेलबाट १०० विकेट लिने अफगानिस्तानका रशिद खानलाई उनले पछि पारेका थिए। गत एप्रिलमा काठमान्डूमा भएको एसीसी प्रिमिअर कपको ओमानविरुद्धको खेलमा अदिल शफिकको विकेट लिएसँगै उनले उक्त उपलब्धि हात पारेका हुन्।

त्यस्तै उनी टी–२० मा २९ खेलबाट ५० विकेट लिने खेलाडीको सूचीमा विश्वको छैटौँ स्थानमा छन्। उनको नाममा अन्य कैयौँ कीर्तिमानहरू छन्।

ओरालो बाटो
अदालतले ‘गौशाला २६’ नाम दिएकी एक ‘नाबालिग’ किशोरीले सन्दीपविरुद्ध बलात्कारको अभियोग लगाउँदै गौशाला प्रहरी कार्यालयमा २०७९ भदौ २१ गते उजुरी दिएपछि तीव्र गतिमा दौडिरहेको सन्दीपको क्रिकेट यात्रामा नराम्रो ब्रेक लाग्यो।

यहीँबाट उनको अधोगति प्रारम्भ भयो। त्यति बेला क्यारिबिअन प्रिमियर लिग खेल्न जमैकामा रहेका सन्दीप झन्डै एक महिना विदेशमा गायब भएका थिए। तर २०७९ असोज २० गते नेपाल फर्किएपछि उनी विमानस्थलमै पक्राउ परे।

सबैभन्दा पहिले उनी क्यानबाट निलम्बित भए। त्यसपछि फ्रेञ्चाइज क्रिकेट खेल्ने अन्तर्राष्ट्रिय ढोका बन्द भयो। पक्राउ परेका उनी धरौटीमा रिहा भएपछि उनलाई राष्ट्रिय क्रिकेटबाट खेल्न योग्य हुने वा नहुने भन्ने विषयमा क्रिकेटमा ठूलो बहस भयो। यसका पक्ष र विपक्षमा थुप्रै देखिए।

यी बहसबीच क्यानले उनको निलम्बन फुकुवा ग¥यो। यसले उनको करिअर फर्किएको आभास पनि भयो। यसबीच नेपालले पनि गज्जबको क्रिकेट खेल्यो। विश्वकप लीग २ मा १२ मध्ये ११ खेल जित्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगायो। एशिया कपमा छनोट भएर नेपालले विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्यो। टी २० विश्वकपमा छनोट भयो।

यी सबैमा सन्दीपको भूमिका अहम् भयो। यसै बेला हो सन्दीपले १०० विकेटको कोशे ढुङ्गा पूरा गरेको। तर काठमाण्डू जिल्ला अदालतले गत पुस १३ गते उनलाई बलात्कारको अभियोगमा दोषी ठहर गरेपछि उनको करिअर रोकिन गयो। क्यानले उनलाई पुनः निलम्बन ग¥यो।

के सन्दीप अझै क्रीजमा फर्किएलान?
सन्दीपले आफू निर्दोष रहेको बताउँदै पुनरावेदनमा जाने बताइसकेका छन्। उच्च अदालत वा अन्तिम सुनुवाइ गर्ने सर्वोच्च अदालतमा पुगेर अन्तिम निर्णयमा उनी निर्दोष ठहरिए फेरि क्रिकेटमा फर्किन सक्छन्।

त्यस बेलासम्म केही गरी सन्दीपले सोचेजस्तो भएमा उनको अहिलेकै क्षमता कायम रहला–नरहला त्यो अर्को विषय हुनेछ। तर कम्तीमा त्यो निर्णय हुने समयसम्म उनी क्रिकेटबाट टाढा हुनेछन्। यदि उनी विरुद्धको फैसला नउल्टिए उनको क्रिकेट करिअर सदाको लागि सकिनेछ।

हाललाई भारतविरुद्ध खेलेको एसिया कप उनको एक दिवसीयको अन्तिम खेल बन्यो भने एसीसी प्रिमिअर कपमा ओमानविरुद्धको खेल उनको टी–२० को अन्तिम खेल थियो। सन्दीप गायक पनि हुन्। २०७५ जेठमा उनले गाएको गीतको एउटा बोल अहिले उनैसँग कतै मिलिरहे जस्तो देखिन्छ।

‘उदास थियो मेरो यो मन अझै भार भयो, भो जित्यौ तिमीले फेरि पनि मेरै हार भयो…।’
साभारः बीबीसी

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट