‘डबल भत्ता’ खाएको विषयमा यस्तो छ सप्तकोशीका तत्कालिन प्रशासकीय प्रमुख चौलागाईंको प्रतिक्रिया

फत्तेपुर (सप्तरी) — सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा ‘डबल रोल’ गरी दोहोरो भत्ता बुझेको विषयमा आलोचना खेपिरहेका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंले आफूले जानाजानी नभई अनजानमा त्यो समस्या देखिएको दाबी गरेका छन्।
शीर्ष खबरले विहिबार ‘पैसामा लिप्त कर्मचारीः सप्तकोशीमा राजकपुरको डबल रोल, एकैदिन काठमाडौँ भ्रमण पनि, कार्यपालिका बैठक पनि!’ शीर्षकमा समाचार प्रकाशित गरेपछि चौलागाईँले फोन सम्पर्क गरी प्रतिक्रिया जनाएका हुन।
उनले भनेका छन्– ‘म २०८० साउनमा दोस्रो कार्यकालका लागि सप्तकोशी नगरपालिका पुगेको थिएँ। त्यसपछि कार्यपालिकाको एक/दुईवटा वैठक बसेका थिए। म उपस्थित भएँ तर हस्ताक्षर गरेको थिईन। त्यसपछि साउन ८ गते भ्रमण आदेश लिएर काठमाडौं गए। फर्किएपछि साथीहरू (कर्मचारी) ले माइन्युटमा हस्ताक्षर गराउन ल्याए, मैले पहिलेको बैठक सम्झिएर हस्ताक्षर गरिदिएँ। तर, त्यो बीचमा अर्को बैठक पनि बसेको रहेछ, जुनबारे मलाई थाहा थिएन।’
माइन्युटमा नाम प्रिन्ट भएर आउने भएकाले पनि आफू झुक्किएको बताउँदै उनले थपे, ‘हातले लेखिएको भए मेरो ध्यान जान्थ्यो होला तर नाम प्रिण्ट भएर आउने भएकाले मैले ध्यान नदिँदा गैरहाजिर बैठकमा पनि हस्ताक्षर भयो।’
त्यसपछि आफु सरुवा भएर हिडेको र अडिटका समयमा राम्रो व्रिफिङ नहुँदा दोहोरो भत्ताका विषय प्रतिवेदनमा उल्लेख भएको उनको दाबी छ।
तर महालेखा परीक्षकको प्रतिवेदनले भने यो सामान्य ‘झुक्किने’ गल्ती मात्र नभई आर्थिक अनियमितताको स्पष्ट प्रमाण देखाएको छ। प्रतिवेदनअनुसार चौलागाईंले साउन ८ देखि १४ गतेसम्म काठमाडौं भ्रमण गरेको देखाएर १६ हजार ८ सय रुपैयाँको भ्रमण भत्ता लिएका छन्। तर यही अवधिमा, साउन १२ गते, उनी सप्तकोशीमै कार्यपालिका बैठकमा सहभागी भएका देखिन्छन्।
प्रतिवेदन अनुसार दुवैतर्फको भत्ता पनि बुझेको देखिएको छ। त्यसैले झुक्किएर हस्ताक्षर हुनु मात्रै समस्या होईन, दुबै ठाउँको भत्ता लिनु कानुनी रूपमा अमान्य ठहर्छ। महालेखाले स्पष्ट भनेको छ—शारीरिक रूपमा उपस्थिति देखिएका व्यक्तिको भ्रमण प्रतिवेदन असत्य हो। त्यसैले चौलागाईंले बुझेको उक्त रकम फिर्ता गर्नुपर्छ।
महालेखा कार्यालयका अनुसार चौलागाईंबाट अहिलेसम्म पाँच हजार दुई सय रुपैयाँ मात्र फिर्ता असुल गरिएको छ। बाँकी १६ हजार ८ सय रुपैयाँ अझै असुल हुन बाँकी छ। तर, चौलागाईले शीर्ष खबरसँगको सम्बादका क्रममा बेरुजु देखिएको रकम पनि तिरिसकेको जानकारी दिएका छन्।
यता, सप्तकोशीको अनियमितता यत्तिमा मात्र सीमित छैन। सरकारी निर्देशिकाअनुसार अधिकतम भ्रमण भत्ता प्रतिदिन १ हजार ५ सय रुपैयाँ भए पनि चौलागाईंले ९ वटा कार्यमा २ हजार ५ सयको दरले भत्ता लिएका छन्। यसबाट उनले ७ हजार ६५० रुपैयाँ बढी भुक्तानी लिएको देखिन्छ।
त्यस्तै, नगरपालिकाको नाममा भएको ‘भ्रमण तथा अनुगमन कार्यक्रम’ अन्तर्गत विनियोजित ९ लाख रुपैयाँमध्ये ८ लाख ९४ हजार ५२० रुपैयाँ खर्च भएको देखिन्छ। तर, यी भ्रमण कहाँ, कहिले, कसको उपस्थितिमा, केका लागि गरिएको भन्ने कुनै स्पष्ट विवरण छैन। अधिकांश कागजातमा सामान्य रूपमा ‘कार्यालयको काम’ भनेर मात्र उल्लेख गरिएको छ।
महालेखा प्रतिवेदनले ती भ्रमणहरूको परिणामसम्बन्धी कुनै ठोस नतिजा प्रस्तुत नभएको भन्दै सम्बन्धित सबै भुक्तानी फिर्ता लिनुपर्ने र पुष्टि विवरण उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ।
तर हालसम्म न नगरपालिकाले दोषी कर्मचारीलाई कारबाही गरेको छ, न त जनप्रतिनिधिहरूले यसबारे सार्वजनिक रूपमा जवाफ दिएका छन्।
यो पनि,
- पैसामा लिप्त कर्मचारीः सप्तकोशीमा राजकपुरको डबल रोल, एकैदिन काठमाडौँ भ्रमण पनि, कार्यपालिका बैठक पनि! (श्रृंखला–५)
- सप्तकोशी नगरपालिकामा इन्धन खर्चको चलखेल: ३५ लाखको खर्च लेखाजोखा विहीन, सवारीका नाममा तेलको कारोबारको आशंका (श्रृंखला–४)
- सप्तकोशीमा कानुन विपरित करार कर्मचारी भर्नाः आन्तरिक आयको २७ प्रतिशत बढी रकम तलबमै स्वाहा !
- सप्तकोशीमा लाज पचाएर अनियमितताः तालिमको नाममा पिकनिक, विविध खर्चको नाममा होटलमा मस्ती
- नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज
- विज्ञापनका नाममा सप्तरीका स्थानीय तहमा लाखौं अनियमितता, सप्तकोशीले नियम छलेर उडायो ११ लाख
- सप्तकोशीका रिटायर्ड कर्मचारीले अनियमित तरिकाले ‘फाउ’मा लिए २ महिनाको तलव
- सप्तकोशीमा भत्ताकै लागि प्रश्ताव र निर्णय विनाको वैठक बस्छन न्यायिक समितिका पदाधिकारी
- सप्तकोशीमा राजश्वको रकम कर्मचारीको गोजीमा, कार्यालयमा छैन रसिदको हिसाव–किताव
- सप्तकोशीमा भ्रमण र विविध खर्चमा मात्रै १८ लाख झ्वामः छैन पुष्टिसहितको प्रतिवेदन र उपलब्धी
- सप्तकोशी नगरपालिकामा अस्तब्यस्त छ आर्थिक ब्यवस्थाः १५ करोड वेरुजुको चाङमा बसेका छन् जनप्रतिनिधि
- सप्तकोशी नगरपालिकामा यसरी हुन्छ अख्तियारको दुरुपयोगः हस्तान्तरण नै नभएको चुहिने घरमा चोचोमोचो मिलाएर सर्यो कार्यालय (फोटो फिचर)
- सप्तकोशी नपामा नागरिकलाई सिटामोल छैन, जनप्रतिनिधि र कर्मचारीलाई रक्सी र मासु
- डेढ लाखको ‘क्षमता अभिवृद्धि पिकनिक’ मा मेयर र प्रशासकीय अधिकृतको कुरा वाझियो
- नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज
- औषधीमा कमिशनको चलखेलः जनप्रतिनिधिको गम्भिर खेलाँची, नागरिकको स्वास्थ्यमा झेल
- ब्यक्तिगत मन्दिरमा छिर्न वाटो नै नभएको ठाउँमा ६ लाखको गेट