सप्तरीमा प्रहरीको द्वैध चरित्रः गाँजा तस्करको संरक्षण, मदिरा तस्करीका नाममा निहत्थालाई गोली

राजविराज — पछिल्ला केही महिनामा सप्तरी जिल्लामा प्रहरीले देखाएको कार्यशैलीले दुई फरक रूप प्रष्ट पारेको छ। एकातिर गाँजा तस्करी जस्तो गम्भीर अपराधमा संलग्न शक्तिशाली समूहलाई संरक्षण, अर्कोतिर मदिरा तस्करीको नाममा सर्वसाधारणमाथि गोली चलाउने कठोरता।

पछिल्लो पटक चार दिनको अवधिमा मात्र जिल्लामा चार फरक घटनामा ११ राउन्ड गोली र ४ सेल अश्रुग्यास प्रयोग भएको तथ्यांक सार्वजनिक भइसकेको छ। तीमध्ये राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति भएको घटनामा ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भयो।

प्रहरीको भनाइअनुसार अवैध मदिरा तस्करी नियन्त्रणका लागि गएका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ५ राउन्ड गोली चलाइएको थियो। तर मृतक पक्षले यादव कुनै आपराधिक गतिविधिमा संलग्न नभएको, बरु विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हैसियतमा परिचित व्यक्ति भएको दाबी गर्दै प्रहरी–तस्करको मिलेमतोमा योजनाबद्ध हत्या गरिएको आरोप लगाएका छन्।

घटनापछि जिल्लामा तनाव फैलियो। स्थानीयले सडक अबरुद्ध गर्दै प्रदर्शन गरे र प्रहरी प्रशासनविरुद्ध नाराबाजी भयो। प्रहरीको जवाफ फेरि बल प्रयोग नै रह्यो — ४ सेल अश्रुग्यास प्रहार।

तर, प्रहरीले यसरी ‘तात्कालिक खतरा’ भन्दै गोली चलाउने सक्रियता देखाउँदा, साढे तीन महिना अघि राजविराज–९ मा भएको २४५१.५ किलो गाँजा बरामद प्रकरणमा भने अचम्मको मौनता र ढिलासुस्ती देखायो। सो गोदामबाट सयौं बोरा सेनिटरी प्याड समेत बरामद भए, जसको सम्बन्ध पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह र रुपनी गाउँपालिकाको सेनिटरी प्याड भ्रष्टाचार प्रकरणसँग जोडिन्छ।

बरामद सामग्री प्रहरी परिसरमै राखिएको छ, तर सेनिटरी प्याडको विवरण बरामद मुचुल्का र अभियोगपत्र दुवैमा उल्लेख छैन। प्रहरीको तर्क छ — प्याड लागूऔषध होइन र भन्सार चलानी नगर्ने नेपाली उत्पादन भएकाले समावेश नगरिएको। तर, कानुनी विज्ञहरू भन्छन्, यो साधारण लापरबाही होइन, आपराधिक स्तरको प्रमाण नष्ट गर्ने प्रयास हो।

अभियोगपत्रमा मुख्य आरोपित ललिताका श्रीमान् राजनारायण साह, उनकी आमा पवित्रीदेवी साहु, राजेशकुमार यादव, राजकुमारी देवी, निरेन्द्रकुमार साहु र इजहारुल हकलाई ‘फरार’ देखाइएको छ। पक्राउ परेका भने चौकीदार र ट्रक चालक मात्रै। यसले ‘मालिक भाग्ने, मजदूर पक्राउ पर्ने’ पुरानो प्याटर्नलाई पुनः पुष्टि गरेको छ।

यी दुई फरक चरित्रले प्रहरीमाथि प्रश्न खडा भएको छ। ‘गाँजा तस्करीमा प्रमाण लुकाउने, ठूला आरोपीलाई भाग्ने मौका दिने प्रहरी किन मदिरा तस्करीको नाममा निहत्था नागरिकमाथि गोली चलाउँछ?’ भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन्।

पूर्वमन्त्री उमेशकुमार यादवले पनि यही प्रश्न दोहोर्याउँदै भनेका छन्, ‘काठमाडौंमा पानीको फोहोरा प्रयोग गर्ने प्रहरी मधेसमा किन गोली चलाउँछ?’ उनले मलेठको गाँजा प्रकरणमा प्रहरीले चुपचाप बस्ने र कमलपुरमा गोली ठोक्ने ‘द्वैध व्यवहार’को आलोचना गरेका छन्।

यी घटनाले मधेसका सीमावर्ती क्षेत्रमा प्रहरी–तस्करको सेटिङ, भागबन्डा नमिल्दा हुने गोलीकाण्ड, प्रमाण लुकाउने प्रवृत्ति र निर्दोष नागरिकमाथिको बल प्रयोग गर्ने प्रहरीको चरित्रलाई सतहमा ल्याएको छ। परिणामस्वरूप, प्रहरीको निस्पक्षता मात्र होइन, राज्य संयन्त्रको नैतिकता र विश्वसनीयता गम्भीर प्रश्नको घेरामा परेको छ।

जानकारहरुका अनुसार जिल्लामा तस्करहरुका वैधानिक र अवैधानिक (प्रहरीसँग सेटिङ मलिाएका र सेटिङ नमिलाएका) दुई समुह सकृय हुँदा अहिलेको अवस्था श्रृजना भएको हो। उनीहरुका अनुसार प्रहरीसँगको मिलेमतोमा रहेको समुहको संरक्षण गर्न प्रहरीले अर्को समुहमाथि वल प्रयोग गर्ने गरेको छ। यो दुवैको उदाहरण मलेठ र कमलपुर घट्ना हुन। मलेठ घट्नामा प्रहरीले नै तस्करको संरक्षण गरेको र कमलपुर घट्नामा बल प्रयोग गरेको घट्नाले प्रहरीको नियत स्पष्ट हुने उनीहरुको तर्क छ।

यो विषयलाई सप्तरी प्रहरीले पनि गम्भिरतापूर्वक अस्विकार गरेको छैन। डीएसपी जितेन्द्रकुमार वस्नेत भन्छन्–‘जिल्लाको शान्ति सुरक्षा कसरी कायम गर्ने र प्रहरीलाई कसरी परिचालित गर्ने भन्ने विषय नेतृत्वले निर्धारण गर्छ। तर, वैधानिक तस्करी र अवैधानिक तस्करी भन्ने कुरा असत्य हो।’

मलेठ घट्नामा प्रहरीले तस्करको संरक्षण नगरेको र ललितासहितलाई मुद्दामा प्रतिवादी बनाईएको उनको दावी छ। ‘हुन त म मुद्दाका मिसिल हेर्दिन, तर त्यो मुद्दामा ललिता र सेनिटरी प्याडको विषय सामेल छ।’ यद्यपी उनको दावी असत्य छ। गाँजा प्रकरणमा जिल्ला अदालतमा दायर भएको मुद्दामा सेनिटरी प्याडको विषय एक शब्द पनि उल्लेख गरिएको छैन।

यो पनि,


प्रतिक्रिया

One thought on “सप्तरीमा प्रहरीको द्वैध चरित्रः गाँजा तस्करको संरक्षण, मदिरा तस्करीका नाममा निहत्थालाई गोली

  1. यसले चाहिँ तस्करबाट कति पैसा खाएको छ, जहाँ पनि तस्करलाई नै बचाउने गरी समाचार लेख्छ, विगतका बरामद सबै तस्करी गरेका सामानहरू थाहा नभए पेजमै गएर पढ्नु, होइन भने भ्रम नछर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट