पैसामा लिप्त कर्मचारीः सप्तकोशीमा राजकपुरको डबल रोल, एकैदिन काठमाडौँ भ्रमण पनि, कार्यपालिका बैठक पनि! (श्रृंखला–५)

फत्तेपुर (सप्तरी)— कतिपय हिन्दी तथा नेपाली फिल्ममै पनि हिरोको डबल रोल देखाएर दर्शकलाई चकित बनाईन्छ। त्यस्ता फिल्ममा हिरोले दुई ठाउँमा एकैपटक देखिएर दर्शकलाई आश्चर्यमा पर्छन। तर, वास्तविक जीवनमा यस्तै ‘डबल रोल’ जब सरकारी कर्मचारीले गर्छन् र त्यसको मूल्य जनताले तिर्नुपर्छ, तब त्यो चलचित्र होइन— करप्सनको अड्डा बन्छ।

सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं पनि पैसाका लागि यस्तै डबल रोलमा देखा परेको घट्ना अहिले बाहिर आएको छ। उनी फिल्मी शैलीमै ‘डबल रोल’मा देखिएका छन्, त्यो पनि केही हजारका लागि।

महालेखा परीक्षकको आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनले उनीविरुद्ध वित्तीय अनियमितताको ठोस प्रमाण फेला पारेको छ, जुन कुनै स्क्रिप्ट नभएर वास्तविकता हो। र स्पष्ट रुपमा जनताको करको दोहन हो।

राजकपुर चौलागाईंले २०८० साउन ८ देखि १४ गतेसम्म काठमाडौँ भ्रमण गरेको देखाएर १६ हजार ८ सय रुपैयाँको भ्रमण भत्ता बुझे। तर सोही साता, साउन १२ गते, उनी सप्तकोशी नगरपालिकाकै कार्यपालिका बैठकमा सहभागी भएर वैठक भत्ता पनि बुझे। काठमाडौँमा भएको भनी खर्च देखाइयो, तर शारीरिक रूपमा सप्तकोशीमै उपस्थिति देखियो—फिल्मी शैलीमा ‘एकै साथ दुई ठाउँमा’।

महालेखा कार्यालयको टिप्पणी अनुसार, सप्तकोशीमा स–शरीर उपस्थित भएको ब्यक्तिको भ्रमण प्रतिवेदन असत्य हो। चौलागाईँबाट दोहोरो भुक्तानी फिर्ता लिनुपर्ने ठहर गरिएको छ। कार्यालयले त्यसमध्ये पाँच हजार दुई सय रुपैयाँ मात्र फिर्ता कट्टा गरेको छ भने बाँकी १६ हजार ८ सय रुपैयाँ अझै असुल हुन बाँकी छ।

यतिमात्रै कहाँ हो र?, भ्रमण भत्ताको अधिकतम दर सरकारी निर्देशिकाअनुसार १ हजार ५ सय रुपैयाँ भए पनि चौलागाईंले ९ वटा कार्यमा २ हजार ५ सयका दरले भत्ता बुझेका छन्। यसबाट अतिरिक्त ७ हजार ६५० रुपैयाँ बढी भुक्तानी लिएको देखिन्छ।

अझै रोचक त के छ भने, नगरपालिकाको वार्षिक भ्रमण तथा अनुगमनका नाममा विनियोजित ९ लाख रुपैयाँमध्ये ८ लाख ९४ हजार ५२० रुपैयाँ खर्च गरिएको छ। तर, ती भ्रमण कहाँ, केका लागि, कोसँग गरिएको—कुनै स्पष्ट विवरण छैन। कागजातहरूमा सामान्य ‘कार्यालयको काम’ भनेर उल्लेख गरिएको छ।

भ्रमणको परिणामको कुनै लेखाजोखा छैन, न त कर्मचारीहरूको उपस्थिति प्रणाली अद्यावधिक गरिएको छ। महालेखा परीक्षकको सिफारिसअनुसार, यी सम्पूर्ण भुक्तानीहरू फिर्ता लिनुका साथै प्रस्ट विवरणसहित पुष्टि गर्नुपर्ने उल्लेख छ। तर अहिलेसम्म नगरपालिकाले दोषी कर्मचारीमाथि कुनै कारबाही अघि बढाएको छैन।

यो घटना केवल सप्तकोशी नगरपालिकाको कथा होइन—सार्वजनिक पदमा बसेका कर्मचारीले कसरी करदाताको पैसा हिनामिना गर्छन्, त्यसको प्रतिनिधि उदाहरण हो। बलिउडको डबल रोलले मनोरञ्जन दिन सक्छ, तर सरकारी डबल रोलले राज्यको ढुकुटी र जनताको विश्वास दुबैलाई खल्बल्याउँछ।

सवाल उठ्छ—के यस्तो डबल रोलको स्क्रिप्ट बारम्बार दोहोरिरहन्छ? के यस्ता पैसाका लागि लिप्त कर्मचारी साँच्चै राष्ट्रसेवक हुन ? के यस्ता कर्मचारीलाई जवाफदेही र जिम्मेवार बनाउन सम्भव छैन ? के सप्तकोशी नगरपकालिकाका जनप्रतिनिधिले यो विषयमा जवाफ देलान ?

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट